हेटौँडाः सिन्धुली जिल्लाको हरिहरपुरगढीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ ५ः१५ बजेको समयमा परेको चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका–१, शिखरकी छलिमाया थिङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हरिहरपुरगढी–३, माडीस्थित खेतमा धान गोड्ने क्रममा चट्याङ लागेर हरिहरपुरगढी–१ शिखरकी ४० वर्षीया थिङको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर अन्य २ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा हरिहरपुगढी–१ शिखरकी ४० वर्षीया लुकुमाया रुम्बा र निजकी छोरी १८ वर्षीया सुशीला रुम्बा रहेकी छिन् ।
चट्याङ लागेर लुकुमायाको दाहिने खुट्टा, जिउ, टाउको र मुटु दुख्ने समस्या देखिएको छ भने सुशीलाको कान नसुन्ने, टाउको, शरीर दुख्ने समस्या देखिएको छ । उनीहरुको अवस्था मध्यम रहेको र मकवानपुर स्थित लामा पोलिक्लिनिक्समा उपचार भइरहेको प्रहरीले जनाएको छ ।