सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको पाँच जिल्लामा विभिन्न घटनामा परी ६ जनाको मृत्यु भएको छ । नुवाकोटमा दुई जना, चितवन, सिन्धुपाल्चोक, धादिङ र रसुवामा एक–एक गरी ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बिहिबार नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित पोखरीगाउँमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी ८० वर्षीय मसिना नगरकोटी रहेको प्रहरीले जनाएको छ । बिहान ८ बजेको समयमा घरबाट १० मिटर पश्चिमतर्फ रहेको भीरबाट १० मिटर तल खसेर वृद्धाको मृत्यु भएको हो । वृद्धाको लडेर मृत्यू भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटिएर दिउँसो १ बजेर ५० मिनेटको समयमा शवलाई मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुलीमा ल्याइएको थियो । बिहिबार दिउँसो साँढे ४ बजे आफन्तले शव बुझेर लगेको प्रहरीले जनाएको छ ।

यस्तै बिहिबार नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित आङ्गेटोलमा एक पुरुष मृत भेटिएका छन् । मृत फेला पर्नेमा बेलकोटगढी–१३ स्थित पाखुरेका ५५ वर्षीय शैलेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ । मानसिक बिरामी तामाङ घरको खाटमा मृत अवस्थामा फेला परेका हुन् । शवलाई दिउँसो ३ बजेर १० मिनेटको समयमा मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुलीमा लगिएकोमा ४ बजेर २० मिनेटको समयमा परिवारले शव बुझेको प्रहरीले जनाएको छ ।

यस्तै बिहिबार रसुवाको गोसाइकुण्ड गाउँपालिका–४ स्थित रिम्चेमा पहिरोमा आएको ढुङ्गाले लागेर एक विदेशी नागरिकको मृृत्यु भएको छ । मृत्यु हुनेमा फ्रान्सका २८ वर्षीय नागरिक मइल्लि लगेश रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । यस्तै बिहिबार दिउँसो ३ बजेको समयमा धादिङको थाक्रे गाउँपालिका–१० स्थित जुँगेखोलामा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही ठाउँका ६९ वर्षीय भीम बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । महेशखोला स्थित पानी घट्ट चलाउन गएकोमा तामाङ घर फर्केर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । स्थानीय र प्रहरी मिलेर खोजतलास गर्ने क्रममा शुक्रबार बिहान २ बजे वडा नम्बर ७ सातकिल्लास्थित खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहिबार बिहान चितवनको पुरानो मेडीकल भरतपुरमा उपचारका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको राजस्थान घर भई हाल देवघाटस्थित बागेश्वरी फिजियो थेरापीमा बस्दै आएका ४५ वर्षीय मगर राम भायलको मृत्यु भएको हो । एक्कासी छात्ति दुखेर उपचारको लागि अस्पतालमा लगिएकोमा बिहान ८ बजे डाक्टरले मृत घोषणा गरेको हो । मृतक राम नेपालमा बोरीङ्को काम गर्ने भन्ने बुझिएको प्रहरीले जनाएको छ । यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ स्थित देउरालीमा एक वृद्धा मृत अवस्थामा भेटिएका छन् । सोही ठाउँकी ८० वर्षीय कृष्ण कुमारी गिरी घरमा सुतिरहेको ओछयानमा मृत अवस्थामा भेटिएको हो ।