हेटौँडाः चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार हात्ती र गैंडाबाट मानिसमा बढी आक्रमण भएको देखिन्छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार हात्ती र गैंडापछि बाघ, गोही, भालुको आक्रमणबाट मानिसहरु घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२२ की शान्ता तिवसिना २०८० साउन १७ मा वेलशहर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस काट्ने क्रममा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । खेतमा तोरी हेर्न गएका बखत देवचूली नगरपालिका–१७ का कलिराम महतो २०८० मंसिर ८ मा शिसवर मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट आएको गैंडाको आक्रमणमा परेर घाइते भएका थिए ।
व्यायाम गर्न हिँडेका बखत २०८० मंसिर १ मा गैंडाकोट–१३ की बिष्णुमाया सारु मगर गैंडाको अक्रमणबाट घाइते भएकी थिइन् भने मध्यविन्दु–१५ का रेसराम थारु २०८० मंसिर १ मा भैंसी चराउन जाँदा बाघको आक्रमणमा परेर घाइते भएका थिए । बाघको आक्रमणबाट माडी–१ का सूर्य महतो, तेजबहादुर पौडेल, माडी–९ का बुद्धराज गुरुङ घाइते भएका थिए ।
आवादी जग्ग्मामा बाख्रा चराउँदै गर्दा माडी–१ की हरिमाया थरुनी २०८० मंसिर १७ मा गैंडाको आक्रमणबाट घाइते भएकी थिइन् । रत्ननगर नगरपालिका–७ की जानुका सुवेदी २०८० पुस २२ मा आफ्नै बारीमा घाँस काट्न जाँदा गैंडाको आक्रमणमा परेर घाइते भएकी थिइन् भने २०८० पुस ५ मा बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा रत्ननगर नगरपालिका–७ की शान्तिकुमारी तामाङ गैंडाको आक्रमणमा परेर घाइते भएकी थिइन् ।
नयाँ गोरखगण गुल्मको दिव्यपुरी पोष्टका प्रदिप गुरुङ पट्रोलिङ गर्ने क्रममा निकुञ्जको जुगेश्वर टापुमा गैंडाको आक्रमण परेर घाइते भएका थिए । मेघौली रेञ्ज पोष्ट का उत्सवकुमार खड्का पट्रोलिङ गर्ने क्रममा सुरुङ खोला इलाकामा, बोटेसिमरा पोष्टका सञ्जय यादव पट्रोलिङ गर्ने क्रममा बोटेसिमरा इलाकामा गैंडाको आक्रमण गर्दा घाइते भएका थिए ।
गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–१८ की पार्वती थापा, देवचुली नगरपालिकाका विवेक पौडेल, मध्यविन्दु–२ का राजकुमार बोटे, देवचुली–१७ का कालिराम महतो, भरतपुर–६ की मीना चुवाई, भरतपुर–१८ की मायाकुमारी लामा, भरतपुर–२६ की किताबीकुमारी महतो, भरतपुर–२२ का टंकबहादुर पाण्डे, माडी–३ की उषाकुमारी दिसुवा घाइते भएका थिए ।
माडी नगरपालिका–१ का रामदेव बोटे २०८० असोज १६ मा खेतमा धानबाली कुर्न जाँदा साँझ हात्तीको आक्रमणबाट घाइते भएका थिए । २०८० जेठ ५ मा हात्ती प्रजनन केन्द्र खोरसरमा हात्तीलाई घाँस काटेर खुवाउने क्रममा रमेश पनुवर (फनित) अर्को जंगली हात्तीको आक्रमणमा परेका थिए । जंगली हात्तीको आक्रमणबाट जोगिन भाग्ने क्रममा उनी घाइते भएका थिए ।
२०८० कात्तिक १६ मा हात्तीमा गस्ती जाने क्रममा जंगली हात्तीले लखेट्दा सुखिभार पोष्टका गेम स्काउट विनोद राई घाइते भएका थिए । गस्तीका क्रममा आफू चढेको हात्तीबाट लडेर उनी घाइते भएका थिए । २०८० असार १४ मा हात्ती गस्ती जाँदा बगईमाडी सेक्टर माडी–९ का लक्ष्मीकुमार चौधरी घाइते भएका थिए । जंगली हात्तीसँग जम्काभेटमा परी उनको हात भाँचिएको थियो ।
२०८० कात्तिक २५ मा खड्गौली घोलको बस्तीमा जंगली हात्ती प्रवेश गर्दा भरतपुर–२३ का रोहित दराई घाइते भएका थिए । भागदौडको क्रममा दराईको देब्रे हात भाँचिएको थियो । माडी–२ का रामदेव बोटे २०८० असोज १६ मा धानबाली कुर्न जाँदा जंगली हात्तीको आक्रमणबाट घाइते भएका थिए । हात्तीमा गस्ती गर्ने क्रममा कसरा हात्तीसारका अजय चौधरी, जंगली हात्ती आक्रमणमा परी अमृते पोष्टका कामेश्वर यादव, बगई सेक्टरका सुरेन्द्र चौधरी, जनकपुर पोष्टका हेमलाल सुवेदी घाइते भएका थिए ।
नेचर गाईड रत्ननगर–६ का योगप्रसाद लामिछाने भालुको आक्रमणमा परी घाइते भएका थिए भने कछुवानी पोष्टका लक्ष्मणबहादुर थापा र कुन्दनकुमार सिंह पेट्रोलको कारवाही सञ्चालन गरी फिर्ता हुने क्रममा भालुको आक्रमणमा परी घाइते भएका थिए । भालुको आक्रमणबाट माडी–८ का जंगबहादुर तामाङ, पर्साको ठोरी–१ का रिलेबहादुर तामाङ घाइते भएका थिए ।
२०८० असोज २८ मा झोकरको दोभानमा हात धुने क्रममा मध्यविन्दु–१५ का पूर्णबहादुर कुमाल गोहीको आक्रमणबाट घाइते भएका थिए । माडी–५ का चन्द्रबहादुर बुढाथोकी खेतमा घाँस काट्ने क्रममा गौरी गाईले आक्रमण गर्दा घाइते भएका थिए भने कावासोती–११ की आइतीमाया सार्की खेतमा बाख्रा चराउने क्रममा बँदेलको आक्रमणमा परी घाइते भएकी थिइन् ।