अहिले विश्वभर स्तनपान सप्ताह चलिरहेको छ । प्रत्येक वर्ष अगस्त १ देखि ७ सम्म स्तनपान सप्ताह मनाइन्छ । यस वर्ष गत साउन १७ गतेदेखि सुरु भएको स्तनपान सप्ताह साउन २३ गतेसम्म रहनेछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो । यस वर्ष ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ भन्ने नारासहित स्तनपान सप्ताह मनाइरहेको छ । स्तनपान भन्नाले शिशुलाई जन्म दिएपछि आमाले आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध खुवाउनु हो । शिशु जन्मेको जतिसक्दो चाँडो एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नुपर्छ । आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्दछ । यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्वहरु हुन्छ । शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि ६ महिना पूरा नभएसम्म आमाको दूधमात्र खुवाउनुपर्छ । शिशुलाई कम्तिमा दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्छ ।

आफ्नो शिशुलाई स्तनपान गराउने कुरा आमालाई जानकारी हुन्छ नै । तर, यसबारे विस्तृतरुपमाा जानकारी नहुन सक्छ । शिशु जन्मिएको एक घण्टाभित्र वा जतिसक्दो चाँडो स्तनपान गराउने, पूर्ण स्तनपान गराउने वा ६ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुबाउने र निरन्तर स्तनपान अर्थात् कम्तिमा २ वर्षसम्म अन्य खानेकुरासँगै आमाको दूध पनि पर्याप्त खुवाउने कुरा आमालाई थाहा हुनैपर्छ । पर्याप्त र सही जानकारी वा चेतनाको अभावले कतिपय शिशुहरु आमाको दूध खानबाट वञ्चित हुनपरेको छ । शिशु जन्मेको १ घण्टाभित्र दूध चुसाउने आमाको संख्या ग्रामीण क्षेत्रमा ६३ प्रतिशत भए पनि शहरी क्षेत्रमा ५१ प्रतिशतमात्र रहेको तथ्यांकले पूर्ण र प्रभावकारी स्तनपानको कमी रहेको स्पष्ट हुन्छ । शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउनेको संख्या ६८ प्रतिशत रहेको तथ्यांक छ । सुदूरपश्चिम प्रदेशमा ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या ७४ प्रतिशत छ भने बागमतीमा ४३ प्रतिशत छ । अझ लुम्बिनी प्रदेशमा जम्मा ३६ प्रतिशतमात्र स्तनपान गराउने आमाको संख्या छ ।

शिशुलाई २४ घण्टामा १० देखि १२ पटकसम्म स्तनपान गराउनुपर्दछ । आमाहरुमा चेतनाको कमीले दिनमा ३–४ पटकमात्र स्तनपान गराउने गरेको पाइन्छ । बोतलको दूूध वा अन्य लेक्टोजिनजस्ता कृत्रिम तयारी दुग्ध पदार्थ ख्वाउने चलन पनि उत्तिकै छ । एउटा स्तनको दूध खुवाउँदा कम्तिमा १५ मिनेटसम्म चुसाउनुपर्छ । एउटा स्तनको दूध पूरै सकाएरमात्र अर्को स्तनको दूध खुवाउन सुरुवात गर्नुपर्छ । यसो गरेमा मात्र शिशुले दूधबाट प्राप्त गर्नुपर्ने पानीदेखि सम्पूर्ण पोषक तत्वसमेत प्राप्त गर्न सक्दछ । कतिपय आमाहरुमा स्तनपान गराउँदा स्वास्थ्य बिग्रन्छ भन्ने गलत मान्यता रहेको छ । तर, नियमित स्तनपान गराउँदा आमाको शरीर फूर्तिलो बन्नुका साथै विभिन्न प्रकारका क्यान्सरबाट बच्न सकिने अध्ययनले देखाएको छ ।

स्तनपानलाई अपरिहार्य आवश्यकताका रुपमा सबैले आत्मसात् गर्नु आवश्यक छ । जन्मिसकेपछि यथाशीघ्र स्तनपान गर्न पाउनु प्रत्येक नवजात शिशुको नैसर्गिक अधिकार हो । शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमै पर्याप्त हुने भए पनि चेतना अभावले शिशुहरु पूर्ण स्तनपानबाट वञ्चित हुनुपरेको छ । आमाको दूधमा रोगसँग लड्ने क्षमता भएका कारण पहिलो खोप मानिन्छ । शिशुलाई पूर्ण स्तनपान नगराउँदा कुपोषणको समस्या पनि देखिने गरेको छ । स्तनपान गराउनुपर्छ भन्ने ज्ञान हुनेहरुले पनि कृत्रिम दूध खुवाउने प्रचलन बढ्दै गएको छ । आमालाई स्तनपान गराउनुपर्छ भन्ने चेतना वृद्धि गर्न र शिशुले पूर्ण स्तनपानको अधिकार पाउन स्तनपान सप्ताहले सहयोग पु¥याउनुपर्छ । स्तनपान सप्ताह मनाउने क्रममा आयोजना गरिने कार्यक्रमहरुले शिशुलाई पूर्ण र निरन्तर स्तनपान गराउन सन्देश प्रवाह गर्नुका साथै स्तनपानको उचित प्रबन्ध गर्न सक्नुपर्छ ।