हेटौंडाः मकवानपुरमा डेंगु संक्रमण देखिने क्रम बढ्दै गएको छ । आइतबार मकवानपुरमा १४ जनामा डेंगु संक्रमण भेटिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आइतबार हेटौंडा उपमहानगरपालिकाका १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यस्तै, बकैया गाउँपालिकाका एक जना बासिन्दा र अन्य जिल्लाका एक जनामा डेंगु पुष्टि भएको छ ।
चालु आर्थिक वर्षको हालसम्म ४३ जनामा डेंगु पुष्टि भइसकेको छ । २० दिनको अवधिमा हेटौंडा उपमहानगरपालिकाका ३५ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाका एक–एक जनामा डेंगु पुष्टि भइसकेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । एक जना भने मकवानपुर बाहिरका रहेका छन् ।