हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई मकवापनुरले मंगलबार वार्षिक कार्यक्रमको समिक्षा गरेको छ । जिल्लाको सबै पालिकाहरुको शिक्षा शाखाको प्रमुखको उपस्थितिमा वार्षिक कार्यक्रमको समिक्षा, बजेट निकासा, बाँकी काम र थप बजेट कसरी खर्च गर्ने भन्ने बारेमा छलफल भएको छ । जिल्लाका थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र बागमती गाउँपालिकाका शिक्षा प्रमुख बाहेक अन्य सबै स्थानीय तहका शिक्षा प्रमुखहरुको बैठकमा उपस्थिती थियो ।

छलफलमा मकवानपुरका सम्पूर्ण विद्यालयहरु संघीय सरकारको निर्देशन नभएसम्म बन्द रहने निर्णय भएको छ । भौतिक दुरी कायम गरेर, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य अपनाएर पनि विद्यालयहरु खुल्न नपाइने भएको छ । त्यस्तै विद्यार्थीहरुलाई गृहकार्य दिन भनेर विद्यालयमा प्रवेश गर्ने, लगायतका कार्यहरु गराउन रोक्ने निर्णय भएको छ । गैरजिम्मेवार भएर विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएमा विद्यालय नै जिम्मेवार हुने भएको छ । मकवानपुरमा सम्पूर्ण शैक्षिक गतिविधि स्थानीय तहले वैकल्पिक माध्यबाट सम्भव भए गर्ने विषयमा बैठकमा छलफल भएको छ । अहिले मकवानपुरका स्थानीय तहहरुले विद्यार्थीलाई पुस्तक बाँड्ने कार्य भएको छ । वैकल्पिक शिक्षण सिकाई अन्तर्गत रेडियो, टेलिभिजन, इन्टरनेटको माध्यमबाट न्यून मात्र अभ्यास भैरहेको पाइएको छ ।

सम्बन्धित विद्यालयको अगुवाईमा मात्र वैकल्पिक शिक्षण सिकाई अभ्यास भएको तर सरकारी संयन्त्रबाट त्यस्तो कार्यक्रम संचालन हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लिलानाथ गौतमको भनाई छ । शिक्षा विकास तथा समन्वय इकाईसँग पनि बजेट अभावका कारण यस्तो कार्यक्रम गर्न असम्भव भएको भन्दै स्थानीय तहले नै यसको प्रभावकारी कार्यान्वयन गर्न सक्ने उहाँले बताउनुभयो । यस्तै हेटौंडा उपमहानगरपालिकामा पनि वैकल्पिक शिक्षण सिकाईको अभ्यास सुरुवात भएको छैन । नगर शिक्षा प्रमुख पूर्ण बहादुर अछामीले विद्यालयहरुको तथ्यांक संकलन भैरहेको भएपनि सबै विद्यालयले समयमै तथ्यांक पेश नगरेको बताउनुभएको छ । बैठकमा अन्य गाउँपालिका शिक्षा प्रमुखहरुले पनि हाल पुस्तक बाँड्ने बाहेक अन्य कुनै काम नभएको बताएका छन् ।

नेपाल सरकारले ल्याएको विद्यालय एकीकरणको रणनीतिमा मकवानपुरको कुनै पनि पालिकाहरुले चासो देखाएका छैनन् । सरकारले आधारभूत विद्यालय एकीकरण गर्दा प्रतिकक्षा ५ लाख र ५ कक्षासम्म एकीकरण गर्दा २५ लाख दिने योजना ल्याएको छ । यस्तो योजनामा मकवानपुरका कुनै विद्यालयहरुले पनि चासो नदेखाएको शिक्षा प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार निजी विद्यालय चलाउन गाह्रो हुने विद्यालयहरुले सामुदायिक विद्यालयहरुसँग एकीकरण गर्न सक्ने प्रावधान सरकारले ल्याउँदा पनि कुनै विद्यालय एकीकरण हुन तयार नरहेको उहाँले बताउनुभयो । उहाँले असार मसान्तसम्म शिक्षकको दरबन्दी मिलान गर्ने विषयमा पनि सकारात्मक रहेको बताउनुभयो ।

संघीय सरकारले असार १ गतेबाट विद्यालयहरु सञ्चालन गर्ने भने तापनि कोरोना संक्रमण झनै उच्च दरमा फैलिएका कारण सुचार हुन सकेको छैन । देशका सरकारी विद्यालयहरुमा अधिकांश क्वारेन्टाइन र आइसोलेसन सञ्चालनमा छन् । यस्तो अवस्थामा विद्यालय खुल्न नसक्ने भएपछि वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउन सक्ने भएका छन् । यसका लागि सम्बन्धित पालिकाका जनप्रतिनिधीहरुको पनि ध्यान जान जरुरी रहेको शिक्षा प्रमुख गौतमले बताउनुभयो । मकवानपुरको अन्य पालिकाहरुको तुलनामा हेटौंडा उपमहानगर सुगम भएपनि यहिँका विद्यालयहरु वैकल्पिक शिक्षण सिकाइमा जान नसकेको उहाँको भनाई छ । उहाँले हेटौंडा उपमहानगर प्रमुखलाई पनि यसबारे जानकारी गराउने बताउनुभएको छ ।