हेटौँडा : चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । प्रमुख ३ संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीसँगै एकजना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गरेका छन् ।
मंगलबार उम्मेद्वारी दर्ताको कार्यतालिकाअनुसार अनेरास्ववियुबाट प्रशिद्ध रेग्मी, नेपाल विद्यार्थी संघबाट सागर घिमिरे, अखिल क्रान्तिकारीबाट छोइसाङ लामा र पुष्कर घिमिरेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । छोइसाङ वर्तमान स्ववियु अध्यक्ष समेत हुनुहुन्छ । सचिवमा अनेरास्ववियुबाट जस्प्रिता अधिकारी, नेपाल विद्यार्थी संघबाट उत्सव ढुंगाना र अखिल क्रान्तिकारीबाट दिपेश कार्कीको उम्मेद्वारी दर्ता भएको छ । कोषाध्यक्षमा अनेरास्ववियुबाट निर्दोष लुइँटेल, नेपाल विद्यार्थी संघबाट मनिषा घिमिरे र अखिल क्रान्तिकारीबाट अमन रायको उम्मेद्वारी परेको छ ।
स्नातक र स्नात्तकोत्तर तहको पठनपाठन हुने मकवानपुर बहुमुखी क्याम्पसमा २ हजार ६ सय ९८ जना मतदाता विद्यार्थी छन् ।











