हेटौंडाः ईलाका प्रहरी कार्यालय भीमफेदीको ईन्चार्जको जिम्ममा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले पाउनुभएको छ । यसअघिका ईन्चार्ज प्रहरी निरीक्षक रामबालक रायलाई घुस रकमसहित बागमती प्रदेश प्रहरीले नियन्त्रणमा लिएपछि रिक्त रहेको ईन्चार्ज पदमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

घुस रकमसहित पक्राउ परेका रायलाई प्रदेश प्रहरी कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो । प्रहरीलाई शुद्धीकरण गर्ने अभियानअन्तर्गत विशेष निगरानी अपनाइएको उहाँको भनाइ छ । यस्तै प्रदेश प्रहरी कार्यालयले हेटौंडा–८ स्थित ईलाका प्रहरी कार्यालय पशुपतिनगरको ईन्चार्जको पनि सरुवा गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको ईन्चार्जको जिम्मेवारी प्रहरी निरीक्षक देवराज काफ्लेलाई दिइएको छ । यसअघिका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।