कार्यक्रमका बीच खिचिएको तस्वीर ।

हेटौंडाः बागमती प्रदेश सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा जेठ १३, १४ र १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागेको हो ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको हो । दिवसको अवसरमा जेठ १३ गते सामाजिक विकास मन्त्रालयले गणतन्त्र दिवससम्बन्धी विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्नेछ । सोही दिन युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले मैत्रीपूर्ण खेलकुद कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्नेछ ।

दिवसको दोस्रो दिन १४ गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्नेछ । सोही दिन वन तथा वातावरण मन्त्रालयले वृक्षरोपण कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्ने भएको छ । प्रदेश सरकारको लगानीमा निर्मित लघुचलचित्र तथा वृत्तचित्रहरुको प्रदर्शन जेठ १४ गते साँझ ५ बजे नारायणी मलको चलचित्र घरमा गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।
यस्नै, दिवसको अवसरमा सम्बन्धित मन्त्रालय÷कार्यालयहरुले आफ्नो परिसर सरसफाई गर्ने, जेठ १५ गते मूल समारोहमा सम्बन्धित मन्त्रालय÷निकाय÷आयोग÷कार्यालयहरुले ब्यानरसहित तोकिएको पोशाकमा कर्मचारीहरु उपस्थित भई प्रभातफेरी गरिने भएको छ । १५ गते विहान ७ः३० बजे हेटौंडाको भूटनदेवी माविको चौरमा भेला भई स्कूलरोड–बुद्धचोक–चौकीटोल–मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणसम्म व्याण्ड बाजासहितको प्रभातफेरी आयोजना गर्ने भएको हो ।

प्रभातफेरीपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा गणतन्त्र दिवस, २०८१ प्रदेशस्तरीय मूल समारोह समितिको उपस्थितिमा मूल समारोह आयोजना गर्नेछ । प्रदेश प्रमुखको प्रमुख आतिथ्यमा कार्यक्रम हुनेछ । दिवसका अवसरमा गणतन्त्र प्राप्तिका क्रममा सहिद भएका परिवारका सदस्यहरुलाई जेठ १५ गते आयोजना हुने मूल समारोहमा सम्मान गरिनेछ । दिवसका दिन १५ गते साँझ प्रदेशस्थित सबै मन्त्रालयहरु, मातहतका जिल्लास्थित कार्यालयहरु, सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा अन्य सार्वजनिक निकायले दीपावली गर्नेछन् ।