हेटौंडाः हेटौंडामा विश्व कछुवा दिवस मनाइएको छ । ‘स्टोप टर्टल एक्स्प्लोइटेसन, सेभ टर्टल’ भन्ने मुल नाराका साथ हरेक वर्ष मे २३ का दिन मनाइने विश्व कछुवा दिवस मनाइएको हो ।
वाइल्ड केयरको आयोजना र कछुवा उद्दार तथा संरक्षण केन्द्र, झापा तथा फरेष्ट्री कलेजका अन्य ग्रीन संस्थाहरुको सहयोगमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी कछुवा दिवस मनाइएको छ । बासस्थानको विनाश, चोरीपैठारी आदिका कारणले लोप हुन लागेको कछुवालाई भविष्यका दिनमा देख्न नपाइने अवस्था नहोस् भनेर कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
सडक र्याली, समुदायमा जनचेतना र स्टल प्रदर्शनी गरी ३ चरणमा कार्यक्रम सम्पन्न भएको निश्चल भट्टले जानकारी दिनुभएको छ । बिहान ८ बजे फरेष्ट्री क्याम्पसबाट सुरु भएको र्याली झण्डाचोक, कान्तिलोकपथ हुँदै बुद्धचोक र अन्त्यमा फरेष्ट्री गेट पुगेर समापन भएको भट्टले बताउनुभयो । र्यालीको उद्देश्य कछुवाको अवैधानिक चोरी शिकारी र बेचबिखन अन्त्य गर्नु थियो । र्यालीमा सहभागी विद्यार्थीहरूले कछुवाको स्टिकर तथा पोस्टकार्डहरु लिएर संरक्षणको सन्देशसहित नारा लगाएका थिए ।
उक्त कार्यक्रमपछि करिब १ बजेबाट मकवानपुरगढी गाउपालिका–४ मा समुदायस्तरको जनचेतनाको कार्यक्रम सम्पन्न गरियो । मासु, अवैध चोरी शिकारी र घरपालुवा जीवको रूपमा प्रयोग हुँदा कछुवाको संख्या घट्दो छ । स्थानीयस्तरमा पाइने कछुवाको बासस्थान प्रवद्र्धन र व्यवस्थापनबारे जनचेतना जगाउनु कार्यक्रमको उद्देश्य थियो ।
हेटौंडा–४, हुप्रचौरमा एजुकेशन स्टल राखिएको थियो । उक्त स्टलबाट विद्यार्थी र अन्य मानिसले कछुवासम्बन्धी जानकारी लिने अवसर प्राप्त गरेको भट्टले जानकारी दिनुभयो । नेपालको कानुनले कछुवा पालन गर्न, बेच्न र मार्न बन्देज गरेको छ । कार्यक्रमपश्चात् कछुवा संरक्षणमा एक ईट्टा थप्न सफल भएको र आगामी दिनहरुमा पनि अझै यस्ता जनचेतनाका कार्यक्रमहरु गर्ने कार्यक्रम संयोजक महिमा पौड्यालले बताउनुभयो ।
हेटौंडाको विभिन्न नदी तथा जलाधार छेत्र कछुवाको बासस्थान हो । नदी सरसफाइ, कछुवा र अन्य जीवजन्तुको बासस्थान व्यवस्थापन र पारिस्थितिक प्रणाली सन्तुलन गर्न यस्ता दिवसले सहयोग पुर्याउने उहाँले जानकारी दिनुभयो । कछुवा विश्वको सबैभन्दा धेरै बाँच्ने प्राणी हो । कछुवाको हिन्दू धर्ममा छुट्टै महत्व रहेका कारण पनि कछुवाको संरक्षण गर्न अत्यन्त जरुरी रहेको उहाँको भनाइ छ ।