बागमती प्रदेशमा दोस्रो युवा सम्मेलन हुँदैछ । सामाजिक विकास मन्त्रालयअन्तर्गत्को प्रदेश युवा परिषद्को आयोजनामा शुक्रबारदेखि ३ दिने युवा सम्मेलन गर्न लागेको हो । बागमती प्रदेशका १३ जिल्लाका युवा सम्मेलनमा सहभागी हुनेछन् । प्रदेशको ११९ वटा स्थानीय तहमध्ये ८९ स्थानीय तहबाट प्रतिनिधित्व गर्दै २ सय जना युवा सम्मेलनमा सहभागी हुने निश्चित भएको हो । युवाको ज्ञान, सीप, सृजना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधार गरेर ५ वटा विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । सम्मेलनमा ‘शिक्षामा कहाँ छ समस्या ?’, ‘नीति, राजनीति र समृद्धि’, ‘डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना’, ‘नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता’, ‘विदेशमा आर्जित ज्ञान र सीपः देशमा लगानीको सम्भावना’ र मुख्यमन्त्रीसँग छलफलसमेत हुनेछ ।

युवा सम्मेलन पश्चात् २०८१ साललाई ‘युवा सीप वर्ष’ घोषणा गर्ने तयारी बागमती प्रदेश युवा परिषद्को रहेको छ । प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने लक्ष्यसहित युवा परिषद् सम्मेलनमा जुटेको भए पनि त्यसको प्रभावकारिता हेर्नै बाँकी छ । युवालाई सीप सिकाउने कुरा राम्रो भए पनि सीप सिकेपछिको अवस्था के हुन्छ भन्नेतर्फ परिषद्को ध्यान जानुपर्छ । विभिन्न प्रकारका सीप हासिल गरेका युवाहरुमध्ये कति स्वेदशमै रोजगार वा स्वरोजगार भए भन्ने तथ्यको खोजी आवश्यक छ । परिषद्ले १० वटा क्षेत्रमा एक सय पेशाका सीप सिकाएर सीप परीक्षणपश्चात् टेवा पुँजी प्रदान गर्ने गरी कार्यक्रम तयार पारेको छ । युवालाई विभिन्न सीपमूलक तालिम दिनुका साथै उद्यमशीलताका लागि टेवा पुँजीसमेत उपलब्ध गराउने योजना ल्याउनुलाई सकारात्मक मान्नुपर्छ ।

देशभित्र पर्याप्त रोजगारीको अवसर सृजना नहुनु र युवालाई स्वरोजगार मूलक उद्यमसँग जोड्ने प्रभावकारी नीति तथा कार्यक्रम नहुँदा युवालाई देशभित्र टिकाउन सकिएको छैन । आफूले चाहेजस्तो रोजगार नपाउँदा युवा विदेशिने एउटा समस्या छ भने युवाहरु कुलत तथा आपराधिक कार्यमा संलग्न हुने अर्को समस्या छ । आम युवाले विदेशमा गएर चाँडै धनी बन्ने सपना देखुञ्जेलसम्म देशमा युवालाई टिकाउन सकिँदैन । उच्च शैक्षिक योग्यता भएका र विशिष्ट ज्ञान, सीप हासिल गरेका युवासमेत विदेशिने क्रम हुँदासम्म देश विकासको सम्भावना पनि हुँदैन । विदेश भनेपछि भुतुक्कै हुने युवा र तिनलाई विदेशिन बाध्य पार्ने सरकारी रवैयाको अन्त्यका लागि युवा सम्मेलनमा व्यापक बहस र निष्कर्ष निकाल्नु उचित हुनेछ । आफ्नै देशमा बसेर उद्यमशील बन्ने र स्वरोजगारमूलक काम गरेर अन्यलाई समेत रोजगारी सिर्जना गर्ने अठोट युवाले गर्ने हो भने देश विकासको गति तिब्र बनाउन सकिन्छ ।

देश विकासको मेरुदण्डको रुपमा रहेका युवालाई सीपवान, दक्ष र सक्षम बनाएर देशमै टिकाइराख्न यस्ता सम्मेलनले प्रेरित गर्नसक्छ । वर्षेनि सम्मेलनमात्रै गर्ने भन्दा पनि गरेको सम्मेलनको उपलब्धीको मूल्यांकन हुनु आवश्यक छ । उच्च शिक्षा वा रोजगारीको नाममा नेपाली युवाहरु विदेशिने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । न्यून संख्यामा शिक्षित युवाहरु स्वदेशमै अध्ययन पूरा गरेर रोजगारीमा लागेको भए पनि अधिकांश युवाहरु विदेशिएका छन् । न्यून रोजगारीको अवसर, आर्थिक समस्या, शैक्षिक क्षेत्रको अस्तव्यस्त नीतिका कारण युवाहरु रोजगारी र अध्ययनका लागि विदेशिने क्रम बढ्दै गएको हो । वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा विदेशिन चाहने वा विदेशिएका युवालाई स्वदेशमै उपयुक्त अवसर प्रदान गर्न युवा सम्मेलन सहयोगी बन्नुपर्छ । युवाको विदेश मोहलाई कम गरेर स्वदेशमै आयआर्जन र स्वरोजगारमा संलग्न हुने उचित अवसर प्रदान गर्न सकेमा सम्मेलनको सार्थकता रहन्छ ।