हेटौंडाः ललितपुर जिल्लाको महांकाल गाउँपालिकाको आयोजना भएको प्रथम संस्करणको प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले हात पारेको छ । बुधवार महांकालको गोटी खेल चौरमा सम्पन्न फाइनल खेलमा थाहा नगरपालिकालाई ३–२ को सेटले हेटौँडाले उपाधि जितेको हो ।
खेलमा थाहा नगरले पहिलो सेटमा २६–२४ र दोस्रो सेटमा २५–२१ ले जित निकालेको थियो र तेस्रो, चौंथो र अन्तिम सेटमा हेटौँडाले १८–२५, १४–२५ र ९–१५ ले सहजै जित निकालेको हो । प्रतियोगिताको उपाधि विजेता हेटौँडाले ३ लाख रुपैयाँ र उपविजेता थाहा नगरले दुई लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै सेमीफाइलमा पराजित हुने आयोजक महाकाल गाउँपालिका र सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाले एक–एक लाख रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुने टिमलाई राष्ट्रिय सभाका प्रमुख नारायण दाहालले पुरस्कार वितरण गर्नुभएको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै थाहा नगरका विष्णु क्षेत्रीले ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै हेटौँडाका उत्कृष्ट डिफेन्डर राजेन्द्र बलामी मगर, उत्कृष्ट सेटर हेटौँडाका सुजन चोखाल, उत्कृष्ट बलर आयोजक महांकाल गाउँपालिकाका जीवन सुनाल र उत्कृष्ट प्रशिक्षक हेटौँडाका पुष्प मैनाली घोषित हुँदै ५० हजार रुपैयाँको नगद राशि प्राप्त गरेका छन् । प्रतियोगितामा १६ वटा टिमहरूको सहभागिता रहेको थियो ।