नेपालमा अहिले विद्यालय तहको संरचनाअन्तर्गत् कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तह भनिन्छ । विद्यालय शिक्षालाई स्थानीय तहअन्तर्गत् रहने व्यवस्था भएसँगै कतिपय गाउँ÷नगरपालिकाले नयाँ–नयाँ अभ्यास गर्दै आएका छन् । पछिल्लो पटक पाठ्यक्रमको प्रारुपमा भएको परिवर्तनले कक्षा १ देखि ८ सम्मको एउटा विषयको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले आवश्यकताअनुसार १०० पूर्णाङ्कको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी पठनपनठन गर्न पाउने स्वायत्तता पाएका छन् । देशका ७५३ वटै स्थानीय तहहरु भौगोलिक, सामाजिक, आर्थिक, सांस्कतिक, धार्मिक, भाषिक, प्राकृतिक स्रोत तथा साधनका आधारमा विविधतापूर्ण छन् । यसैले स्थानीय आवश्यकतालाई मध्यनजर गरी स्थानीय तहहरुले आधारभूत तहको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याएका छन् ।
स्थानीय पाठ्यक्रम प्रारुप २०७६ तथा आधारभूत शिक्षा पाठ्यक्रम २०७६ को व्यवस्थाअनुसार स्थानीय तहले स्थानीय विषयको पाठ्यक्रम बनाएर लागू गर्न थालेका हुन् । पाठ्यक्रम निर्माणका लागि सरकारले स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकासमेत जारी गरेको छ । कतिपय स्थानीय तहले पाठ्यक्रम निर्माणका लागि विभिन्न गैरसरकारी संस्थाको सहयोगसमेत लिइरहेका छन् । मुलभूतरुपमा आफ्नो स्थानीय तहको सेरोफेरोलाई समेट्ने प्रयास स्थानीय विषयका पाठ्यक्रमले गरेका छन् । मकवानपुर जिल्लाका अधिकांश पालिकाहरुले स्थानीय विषयका पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेका छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, मनहरी, राक्सिराङ, भीमफेदी, बागमती र इन्द्रसरोवर गाउँपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन् । कैलाश र बकैया गाउँपालिकाले पनि पाठ्यक्रम तयार गरिरहेका छन् । हेटौंडा उपमहानगर पालिकाले गत शैक्षिक सत्रमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएकोमा चालु शैक्षिक सत्रबाट कक्षा ८ सम्म नै स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।
आधारभूत तह (कक्षा ८ सम्म) अध्ययनरत विद्यार्थीलाई स्थानीय परि वेशका प्राकृतिक, भौगोलिक, सांस्कृतिक, आर्थिक, ऐतिहासिक, सामाजिक तथा वातावरणीय ज्ञान, सिप प्रदान गरी तिनको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय पाठ्यक्रम सहयोगी हुनेछ । मकवानपुरका केही पालिकाले स्थानीय विषयको पाठ्यक्रमसँगै पाठ्यपुस्तक पनि निर्माण गरिसकेका छन् भने केहीले पाठ्यक्रममात्र तयार गरी त्यसैको आधारमा विद्यालयहरुमा पठनपाठन सुरु गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले पनि पाठ्यक्रम निर्माण गरेर त्यसैको आधारमा एक सय पूर्णाङ्कको स्थानीय विषय पठानपाठनका लागि विद्यालयहरुलाई निर्देशन दिएको छ । तर, उपमहानगरपालिकाभित्रका सबै विद्यालयले त्यसको प्रभावकारी कार्यान्वयन गरेका छैनन् । कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय विषयको रुपमा आफूखुशी अंग्रेजी, गणित, कम्प्युटर वा अन्य विषयको अध्यापन गराउनुले स्थानीय पाठ्यक्रम पूर्ण कार्यान्वयनमा आउन नसकेको हो ।
हाम्रो विद्यालय शिक्षामा पाठ्यक्रमभन्दा पनि पाठ्यपुस्तकमा आधारित शिक्षण हुने गरेको छ । पढाउने शिक्षक र पढ्ने विद्यार्थी दुबैले पाठ्यक्रमलाई भन्दा पाठ्यपुस्तकलाई उच्च महत्व दिएर पठनपाठन गर्ने परिपाटी रहेका कारण पाठ्यक्रममात्र बनाइएका स्थानीय विषयको कार्यान्वयन नाममात्रको देखिएको हो । विद्यार्थी तथा अभिभावकमा देखिएको अंग्रेजी भाषाको मोह, सूचना प्रविधिको आकर्षण तथा विद्यार्थीलाई गणित विषयमा पोख्त बनाउने नाममा स्थानीय पाठ्यक्रमको कार्यान्वयन ओझेलमा परिरहेको यथार्थ हो । स्थानीय विषयका लागि कक्षा १–३ मा ५ र कक्षा ४–८ मा ४ पाठ्यघण्टा छुट्याइएको भए पनि त्यसको कार्यान्वयन भएको छ वा छैन भन्ने अनुमगन र नियमन स्थानीय तहबाट हुनुपर्छ । पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेपछि त्यसको अक्षरस पालना गर्न गराउन स्थानीय तह गम्भीर नहुँदासम्म स्थानीय पाठ्यक्रम नाममात्र हुने र कागजमा मात्र कार्यान्वयन हुने निश्चित छ ।