हेटौंडाः हेटौंडा अस्पतालमा चैत महिनामा २० जना किशोरीहरु आमा बनेका छन् । एक महिनाको अधिमा २० वर्षभन्दा कम उमेरका २० जना किशोरी आमा बनेका हुन् ।

अस्पतालमा २ सय २४ जना गर्भवतीले सेवा लिँदा २० जना किशोरी रहेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभयो । चैत महिनामा अस्पतालबाट प्रसुति गराएका २ सय २४ जनामध्ये एक सय ३२ जना महिलाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए । अस्पतालमा ७ जना महिलाको अवस्था जटिल रहेको थियो भने ६५ जना महिलाको शल्यक्रिया गरेर बच्चा निकाल्नुपरेको थियो ।

सूचना अधिकारी झाका अनुसार ९४ जना बालिका र एक सय ९ जना बालकको जन्म भएको छ । फागुन महिनाको तुलनामा चैत महिनामा बढि किशोरी आमा बनेका छन् । किशोरावस्थामा बच्चा जन्माउँदा पाठेघरको समस्या हुने चिकित्सकहरुको भनाइ छ । किशोरी आमाले जन्माएको शिशुमा पनि विभिन्न समस्या देखिने भएकाले किशोरकिशोरीहरुलाई सचेत गराउन आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् ।