मुलुकको सार्वजनिक शिक्षामा धेरै समस्याहरु छन् । विद्यार्थी संख्याको आधारमा सबै विद्यालयमा पर्याप्त शिक्षकको व्यवस्था हुन सकेको छैन । आधारभूत तहको कक्षा ६ देखि ८ सम्म र माध्यमिक तहको कक्षा ९ देखि १२ सम्म विषयगत शिक्षक आवश्यक भए पनि अधिकांश विद्यालयमा विषयगत शिक्षकको व्यवस्था हुन सकेको छैन । फरक विषय अध्ययन गरेका र तल्लो तहका शिक्षकले माथिल्लो कक्षाका अधिकांश विषय पढाउनुपर्ने बाध्यता सामुदायिक विद्यालयहरुमा छ । अकोतिर, रिक्त भएको शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनावश्यक अलमल हुने गरेको छ । शिक्षकहरु लामो बिदामा बसेको समयमा सट्टा शिक्षकको व्यवस्थापनमा पनि ढिलाई हुने गरेको छ । यसले गर्दा सामुदायिक विद्यालयका विद्यार्थीको पठनपाठनमा धेरै समस्या हुने गरेको छ ।
महिनौंसम्म कुनै विषयको शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन र परीक्षासमेत प्रभावित हुने समस्या सबैतिर छ । विद्यालयमा भएका कुनै शिक्षक सरुवा भई जाँदा र कुनै शिक्षक अवकास हुँदा रिक्त हुने दरबन्दीमा शिक्षक सरुवा गर्न वा नियुक्त गर्न महिनौं लाग्ने गरेको छ । शिक्षकहरु अध्ययन वा असाधारण बिदामा बस्दाको अवधिका लागि सट्टामा शिक्षक नियुक्त गर्ने व्यवस्था भए पनि यसको व्यवस्थापन सहज हुने गरेको छैन । महिला शिक्षकले सुत्केरी हुँदा न्यूनतम ९८ दिन बिदा पाउँछन् । यसरी सुत्केरी बिदामा बसेको समयमा सट्टा शिक्षकको व्यवस्थापन हुने गरेको छैन । यस्तै, शिक्षकहरु बिरामी, किरिया वा अन्य लामो विदामा बस्दा पनि सट्टा शिक्षक व्यवस्थापन नहुँदा विद्यार्थीको पठनपाठन र शिक्षण सिकाई क्रियाकलापमा प्रत्यक्ष असर पर्ने गरेको छ । यही तथ्यलाई मध्यनजर गरेर मकवानपुरको बागमती गाँउपालिकाले शिक्षक बैंक स्थापना गर्ने भएको छ । पालिकाको शिक्षा समितिले शिक्षक बैंक व्यवस्थापन कार्यविधि निर्माण गरेर शिक्षक बैंकमा रहन इच्छुक व्यक्तिबाट दरखास्त आह्वान गरेको हो । बालविकासदेखि आधारभूत र माध्यमिक सबै तहमा योग्यता पुगेका इच्छुक व्यक्तिलाई सूचीकरण गरी शिक्षक बैंक बनाइने भएको हो ।
गाउँपालिकाले आवेदकको परीक्षा लिएर उत्तीर्णहरुमध्येबाट शिक्षक प्रतीक्षा सूची तयार गर्ने बताएको छ । गाउँपालिकाअन्तर्गत्का सामुदायिक विद्यालयमा कार्यरत शिक्षक लामो समय विदामा बस्दा विदा अवधिभर उक्त प्रतीक्षा सूचीमा सूचीकृत शिक्षकलाई गाउँपालिकाले खटाउनेछ । यस्तै, विद्यालयमा कुनै शिक्षकको दरबन्दी रिक्त हुन आएमा त्यसको पूर्ति नहुँदासम्म प्रतीक्षा सूचीका शिक्षकलाई खटाउने जनाइएको छ । शिक्षक बैंकको प्रतीक्षा सूचीमा रहेका शिक्षकलाई विद्यालयको रिक्त दरबन्दी वा विदामा बस्ने शिक्षकको सट्टामा खटाउँदा विद्यालयमा शिक्षक व्यवस्थापन सहज हुनेछ । समयमै शिक्षक व्यवस्थापन हुँदा विद्यार्थीको पठनपाठन र शिक्षण सिकाइ क्रियाकपलापमा बाधा पुग्दैन । यसबाट विद्यार्थीको पठनपाठनलाई वर्षैभरि सुचारु बनाउन सहयोग पुग्नेछ ।
वर्तमान संवैधानिक व्यवस्थाअनुसार माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा आएपछि कतिपय स्थानीय तहले केही असल अभ्यास सुरु गरेका छन् । बागमती गाउँपालिकाले शिक्षक बैंक स्थापना गर्ने कार्य पनि यस्तै असल अभ्यासमध्येको एउटा हो । धेरै सामुदायिक विद्यालयको लागि ठूलो समस्या बन्ने गरेको सट्टा शिक्षक र शिक्षक दरबन्दी पूर्तिको समस्यालाई यसले पक्कै समाधान गर्दछ । यस कार्यबाट शिक्षित जनशक्तिले आफ्नै क्षेत्रमा छोटो अवधिकै भए पनि रोजगारीको अवसर पाउनेछन् । अर्कोतिर शिक्षक सेवामा प्रवेश गर्ने तयारी गरिरहेकाहरुका लागि यसले थप सहयोग गर्नेछ । सार्वजनिक विद्यालयको शैक्षिक सुधारमा पालिकाहरुले केही गरेनन् भन्ने आरोपबाट बच्नसमेत यस्ता कार्यले सहयोग गर्ने छ । बागमती गाउँपालिकाले सुरुवात गर्न लागेको शिक्षक बैंकलाई प्रभावकारी बनाउनु आवश्यक छ । यसको प्रभावकारिताबाट अन्य पालिकालाई पनि शिक्षक बैंकको सुरुवात गर्न दबाब बन्नसक्छ ।