हेटौंडाः निःशुल्क प्लाष्टिक सर्जरीका लागि बिरामी पहिचान गर्न मकवानपुरको विभिन्न स्थानमा निःशुल्क शिविर हुने भएको छ । अपाङ्ग सरोकार केन्द्र मकवानपुर र बीएण्डबी अस्पताल काठमाडौंको आयोजनामा शिविर हुन लागेको हो ।

जन्मिँदै ओठ तथा तालु (जिब्रोभन्दा माथि) फाटेको, शल्यक्रिया भइसके पनि ओठ, नाक नमिलेको, गिजा, तालुमा प्वाल भएकाहरुका लागि निःशुल्क प्लाष्टिक सर्जरी (शल्यक्रिया)का लागि छनोट शिविर हुने बताइएको छ । यहि बैशाख २० गते बिहीबार भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर हुनेछ । २१ गते शुक्रबार मकवानपुरगढी स्वास्थ्य चौकी, शिखरकटेरीमा छनोट शिविर हुनेछ ।

यस्तै, २२ गते शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा शिविर हुने भएको छ । २३ गते आइतबार मनहरी अस्पतालमा, २४ गते कैलाश गाउँपालिकाको कालिकाटार स्वास्थ्य चौकी, कटुञ्जेमा र २५ गते मंगलबार आधारभूत स्वास्थ्य सेवा केन्द्र बकैयाको हात्तीसुँडेमा शिविर हुने भएको छ । शिविरमा छनोट भएका बिरामीहरुलाई शल्यक्रियाको लागि सोही दिन बीएण्डबी अस्पतालमा लगिने र बिरामी तथा एक कुरुवालाई आउने जाने भाडा र खाने र बस्ने निःशुल्क व्यवस्था गरिने भएको छ ।