अध्यक्ष निर्वाचित प्रमोद सिंह रानाभाट ।

हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको ५८औं साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा प्रमोद सिंह रानाभाट विजयी हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार एक हजार १४ मतसहित प्रमोद सिंह रानाभाट अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षका आकांक्षी अनिल अग्रवाल सात सय ६५ मतसहित पराजित हुनुभएको छ ।

शनिबार भएको मतदानमा दुई हजार ४६ जना मतदाता व्यवसायी मध्ये एक हजार आठ सय १६ मत खसेको थियो । महासचिवमा रानाभाट प्यानलबाटै प्रतिमा श्रेष्ठ (१०१२ मत), कोषाध्यक्षमा अग्रवाल प्यानलबाट तेजराज अधिकारी (९१७ मत), सहकोषाध्यक्षमा रानाभाट प्यानलबाट निलम वैद्य (९१९ मत) विजयी भएका छन् । महासचिवमा अग्रवाल प्यानलबाट विकेशलाल श्रेष्ठ (७१३ मत), कोषाध्यक्षमा रानाभाट प्यानलबाट श्रीकृष्ण कर्माचार्य (८०१ मत), अग्रवाल प्यानलबाट सहकोषाध्यक्षमा राधिका सामरी (७८६ मत) पराजित भएका छन् ।

महासचिव निर्वाचित प्रतिमा श्रेष्ठ ।

यता उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाई र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । राजु र काव्यमणि अनिल अग्रवाल प्यानलबाट हुनुहुन्छ भने दीपक र उज्ज्वल रानाभाट प्यानलबाट हुनुहुन्छ ।

वाणिज्यतर्फ उपाध्यक्षमा ५९९ मतसहित राजु अधिकारी विजयी हुँदा उपाध्यक्षका अर्का आकांक्षी रामप्रसाद न्यौपाने ४८४ मतसहित पराजित हुनुभयो । वाणिज्य सचिवमा कुलप्रसाद चौलागाई ६८४ मतसहित विजयी हुँदा दिवस पराजुली ४११ मतसहित पराजित हुनुभएको छ । यस्तै वाणिज्यतर्फ सदस्यमा बालकृष्ण बजगाई (६४६ मत), सन्तोष घिमिरे (६१६ मत), विष्णुप्रसाद दाहाल (५६० मत), राजेन्द्र लामिछाने (५५० मत) विजयी हुनुभएको छ । वाणिज्य सचिवमा विजयी कुलप्रसाद, सदस्यमा विजयी सन्तोष र राजेन्द्र रानाभाट प्यानलका हुनुहुन्छ भने सदस्यमा निर्वाचित बालकृष्ण र विष्णुप्रसाद अग्रवाल प्यालनका हुनुहुन्छ । वाणिज्यतर्फ एक हजार एक सय ५४ मत खसेको थियो ।

यस्तै उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती २७२ मतसहित विजयी हुँदा रविन्द्र प्रसाद घिमिरे २४० मतसहित पराजित हुनुभयो । उद्योग सदस्यमा भुपेन्द्रप्रसाद अधिकारी (३०७ मत), कृष्णगोपाल महर्जन (२८८ मत) र जगदिश दहाल (२७३ मत) विजयी हुनुभएको छ । यस्तै उद्योगतर्फ महिला सदस्यमा सीतादेवी भेटवाल २९५ मतसहित विजयी हुनुभएको छ । उद्योगतर्फ उपाध्यक्ष दीपक, सदस्य भुपेन्द्र, जगदिश र सीतादेवी रानाभाट प्यानलबाट विजयी हुनुभएको हो भने कृष्णगोपाल अग्रवाल प्यानलबाट विजयी हुनुभएको हो । उद्योगतर्फ ५५५ मत खसेको थियो ।

संघको एसोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाई निर्वाचित हुनुभएको छ । शनिबार राती सम्पन्न मतगणनाको नतीजाअनुसार ४८ मतसहित चौलागाई उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । एसोसिएटतर्फको उपाध्यक्षका आकांक्षी विष्णु खनाल ३३ मतसहित पराजित हुनुभयो । एसोसिएटतर्फको सदस्यमा नवराज खतिवडा ६४ मत र अंकिता सुमार्गी ५४ मतसहित विजयी हुँदा ३८ मत प्राप्त गरी पुजन विडारी पराजित हुनुभयो । एसोसिएटतर्फ ८१ मत खसेको थियो । एसोसिएटमा निर्वाचित उपाध्यक्ष र सदस्य सबै प्रमोद सिंह रानाभाट प्यानलका उम्मेदवार हुन् ।

वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । शनिबार राती सार्वजनिक भएको मत परिणामअनुसार १५ मतसहित काव्यमणि अधिकारी वस्तुगतर्फ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । अर्का आकांक्षी प्रदीप अर्याल ११ मतसहित पराजित हुनुभयो । वस्तुगततर्फ २६ मत खसेको थियो ।

वस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीबीच १३–१३ मतसहित बराबरी भएको छ । यस्तै वस्तुगततर्फ सदस्यमा शम्भु पुडासैनी १२ मतसहित विजयी हुँदा ११ मतसहित कृष्ण अर्याल र ३ मतसहित गोविन्द चौलागाई पराजित हुनुभएको छ । वस्तुगततर्फ उपाध्यक्ष निर्वाचित काव्यमणि र सदस्य शम्भु अनिल अग्रवाल प्यानलका हुनुहुन्छ ।