शैक्षिकसत्र २०८० का अभ्यास, उपलब्धी र सिकाई तथा शैक्षिक सत्र २०८१ को योजना प्रस्तुत गर्नुहुँदै श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल ।

हामीकहाँ शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा ५ सय १७ जना विद्यार्थी सहभागी भए । दुई बर्षमा झण्डै २ सय ५० विद्यार्थी बढेको छ । दुई बर्षअघि विद्यालय मर्ज गर्नुपर्छ भनिएको थियो । त्यति बेला मर्ज गर्नु हुँदैन भन्यौं । विद्यार्थी किन आएन त्यहाँ खोजी गरौँ, त्यहाँ सुधार गरौँ, विद्यालय बचाउँ अभियान नै चलायौं ।

शिक्षक संख्या माध्यमिक तहमा ५ जना, आधारभुत तहमा ४ जना, प्राथमिक तहमा ८ जना छौँ । प्रारम्भिक बालविकास कक्षामा १ जना र निजी श्रोतका शिक्षक ६ जना रहेकोमा थप ५ जना शिक्षक निजी स्रोतबाट नियुक्त गर्ने प्रक्रिया जारी छ । आया १ जना रहेको र १ जना थपिँदैछ । लेखापाल १ जना र कार्यालय सहयोगी ४ जना रहेका छन् । खाली कक्षा प्रबन्ध गर्न १ जना स्वयम्सेवक शिक्षक हुनुहुन्छ । अढाई बर्षदेखि ५ बर्ष मुनिका बालबालिकाहरु ८१ जना अध्ययनरत छन् । सरकारले १ जना शिक्षक दिनुभएको छ । शिक्षक अपुग भएको सन्दर्भमा नगरपालिकाको ध्यानाकर्षण गराउँछु ।

शैक्षिक बर्षका लागि तयार गरिएको योजनासँगै कार्ययोजना तयार गर्ने गरेका छौं । हामी शैक्षिक क्यालेण्डर तयार गर्ने र कार्य विभाजन गर्नेछौँ । पूर्वप्राथमिक तहलाई व्यवस्थित गर्ने तयारी रहेको छ । अङ्ग्रेजी माध्यमको शिक्षालाई थप गर्ने प्रक्रिया चलिरहेको छ जुन २०८० को योजना रहेको छ । भौतिक निर्माण, नृत्य कक्षा प्रारम्भ गर्ने शैक्षिक सत्र २०८० कै योजना रहेको छ । र यो योजना कार्यान्वयन गर्नका लागि समुदायमा समन्वय गर्ने, अभिभावक भेटघाट र अन्तरक्रिया गर्ने, अनुपस्थित विद्यार्थीका अभिभावकहरुलाई फोन सम्पर्क गर्ने, नृत्य कक्षा सञ्चालन गर्ने, अभिभावकहरुको उपस्थितिमा पृष्ठपोषण सहितको परीक्षाफल वितरण गर्ने, पूर्व विद्यार्थी भेला, छलफल र अन्तरक्रियालाई बढाउनु पर्छ भन्ने हाम्रो योजना अन्तर्गत रहेको छ ।

विद्यालयका केहि प्रमुख समस्याहरु छन् । विद्यार्थी संख्या कम हुनु, स्थानीय अभिभावकहरुका बालबालिकाको संख्या न्युन हुनु, विद्यार्थीहरुका पठन संस्कृतिको कमी, नियमित विद्यालय नआउनु, लामो समयसम्म अनुपस्थित हुनु विद्यालयका प्रमुख समस्या हुन् । छोराछोरीको पढाईप्रति अभिभावकको चासो कम हुने र घरमा पढ्ने वातावरणको सृजना नगरिदिनु पनि समस्याकै रुपमा रहेको छ । शैक्षिक सत्रको अन्तिमसम्म पनि नयाँ विद्यार्थी भर्ना भइरहनु, भर्ना भएका विद्यार्थीहरुले बीचमै विद्यालय छाड्ने समस्या रहेको छ । विद्यार्थीसँग अत्ति आवश्यक शैक्षिक सामग्री नहुनु, विद्यालयमा नयाँ नयाँ प्रविधिका शैक्षिक सामग्री पुरा गर्न नसकिएको अवस्था छ । विद्यार्थीले निर्माण गरेका विषयगत शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने कक्षाकोठा छैन । कम्प्युटर प्रयोगशालामा पर्याप्त कम्प्युटर छैनन् । कम्प्युटर शिक्षकको व्यवस्था गर्न सकिएको छैन ।

शैक्षिक सत्र २०८० मा मन्टेश्वरी कक्षा संचालन भएको छ । जहाँ ३६ जना बालबालिका अध्ययनरत छन् । विद्यार्थी संख्या बृद्धि भएको छ । थप भवन तथा फर्निचर व्यवस्थापन भएको छ । स्थानीय समुदाय र पूर्वविद्यार्थीहरुको अपनत्वमा बृद्धि भएको छ । बाहिरी क्रियाकलापहरुमा विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका छन् । अङ्ग्रेजी माध्यमको शिक्षा थप भएको छ । र पूर्वविद्यार्थी समाज गठन भएको छ ।
शैक्षिक सत्र २०८० मा भएका राम्रा अभ्यासहरुमा १५ जना शिक्षकहरुसँग ल्याप्टप रहेको छ, ८ वटा कोठामा प्रोजेक्टर जडान भएको छ । आईसिटीको माध्यमबाट पढाउने प्रयत्न गरेका छौँ । त्यसैगरी शनिवारे परीक्षा गर्छौ । हरेक शनिबार कक्षा ४ देखि ८ सम्मका बालबालिकाहरु परीक्षा दिन आउनुहुन्छ । हामी वर्षैभरि यो परीक्षा सञ्चालन गर्छाै । पुस्तकालयमा नियमित विद्यार्थीहरुलाई पढ्न पठाउने प्रयत्न गरेका छौँ । परीक्षा नतिजा वितरण गर्दा हरेक अभिभावकको हातमा फिडब्याक दिएर मात्र नतिजा दिने प्रचलन छ । अभिभावक भेला पनि बेला बेलामा राख्ने गरेका छौँ । जहाँ प्रत्येक कक्षाको अभिभावकहरु भेला हुन्छन् । हामीले विद्यालय क्याप्टेन, भाईस क्याप्टेन, सदनगत क्याप्टेन बनाएका छौँ । जुन निर्वाचन अभ्यासबाट गराउछौँ । विद्यालय भित्र जंकफुड निषेध गरेका छौँ । अतिरिक्त क्रियाकलापहरु नियमित गर्छाँै । विद्यार्थी बढाउन सरस्वति पुजाको दिन अक्षरारभ कार्यक्रम गर्छौँ ।

विद्यार्थीका अभिभावकहरुले बालबालिका के गरिरहेका छन् भन्दै पिजि कक्षा र नर्सरी कक्षाका अभिभावकहरुले घरबाटै सिसिटिभिको माध्यमबाट हेर्न सक्नुहुन्छ । विद्यालय भित्र स्काउटको गतिविधि हुन्छ । नृत्य कक्षा हुन्छ । विविध चाडपर्वहरुमा बालबालिकाहरुलाई सहभागी गर्छाँै । त्यसैगरी पठन संस्कृतिको विकास गर्न एउटा कक्षालाई चयन गरेर पत्रिका पढाउँछौं । कक्षा शिक्षक मार्फत हामी अनुपस्थित विद्यार्थीलाई फोन गर्छाँै । त्यसैगरी गृहकार्य लेख्नका लागि होमवर्क डायरीको व्यवस्था गरिएको छ । छात्रवृत्ति अक्षय कोषको सुरुवात गरिएको छ । विद्यार्थीलाई शैक्षिक अवलोकन भ्रमण गराउने गरेका छौं ।
व्यवहारिक ज्ञान र सीपको अभ्यास हुन्छ । दुना टपरी बनाउने, बत्ति बनाउने, धान रोप्ने जस्ता क्रियाकलाप त्यसमा हुन्छन् । खाना महोत्सव हुन्छ । सचेतना ¥याली हुन्छ । शैक्षिक सत्र २०८० का प्रमुख चुनौतिमा श्रोत साधन र जनशक्तिको अभाव प्रमुख रहेको छ । निम्न वर्गका अभिभावकका विद्यार्थीहरु विद्यालयमा छन् । शैक्षिक सत्र २०८१ का लागि अङ्ग्रेजी मध्यमका कक्षा थप गर्दै जाने र नयाँ विद्यार्थी भर्ना गर्ने तयारी रहेको छ । खेल मैदान सुधार गर्ने, विभिन्न निकायबाट प्राप्त श्रोतको उपयोग गर्ने, अभिभावकसँग भेटघाट बढाउने तयारी छ । विद्यालयलाई बालमैत्री घोषणा गर्ने तयारी छ । सार्वजनिक बिदामा समेत पूर्वप्राथमिक तहको कक्षा सञ्चालन गर्नेछौँ ।

(२०८० चैत २५ गते आयोजना गरिएको कार्यक्रममा हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको योजना प्रस्तुती कार्यक्रममा प्रधानाध्यापक श्रीराम दाहालले प्रस्तुत गर्नुभएको विवरणको सम्पादित अंश)