प्रवेश परीक्षा दिँदै विद्यार्थी ।

हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले सोमबार प्रवेश परीक्षा लिएको छ । प्रवेश परीक्षामा ९ सय विद्यार्थी सहभागी छन् । विद्यालयले ४ सय ५० जना विद्यार्थी भर्ना लिन सक्ने जनाएको छ । यसअघि ३ सय विद्यार्थी भर्ना गर्ने योजनामा रहेको भुटनेदवी माविले ३ वटा नयाँ कक्षाकोठाको व्यवस्थापन गरेर ४ सय ५० विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो ।

विद्यार्थीको चापका आधारमा आवश्यक भयो भने व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्षलाई पनि विद्यार्थीको कक्षाकोठामा परिणत गरिने विद्यालयले जनाएको छ । “विद्यार्थीको चापका आधारमा आवश्यक भए अध्यक्षको कार्यकक्षलाई कक्षाकोठामा परिणत गर्न भनिदिएको छु”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । कक्षा ७, ८ र ९ मा एउटा सेक्सन थप गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ ।

चालु शैक्षिक सत्र २०८१ मा विद्यालयले ३ वटा कक्षाकोठा थप गरेर ४ सय ५० विद्यार्थी भर्ना लिने योजना बनाएको हो । ५ कक्षादेखि ९ कक्षासम्म नयाँ भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा लिइएको विद्यालयका सहायक प्रधानाध्यापक वेदराज कोइारालाले जानकारी दिनुभएको छ । प्रवेश परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थी मधेश प्रदेशका छन् । कक्षा ८ मा सबैभन्दा बढी २ सय २० जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् भने कक्षा ९ मा १ सय ६० जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । शैक्षिकसत्र २०८० मा २ हजार ६८ जना विद्यार्थी भर्ना भएका मध्ये १ हजार ७ सय ३४ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका छन् ।