प्रदेशको विभिन्न जिल्लाबाट छ्नोट प्रतियोगितामा सहभागी हुनेहरु ।

हेटौंडाः अखिले नेपाल फुटबल संघ (एन्फा)ले सुरु गरेको यु–१३ को प्रदेशस्तरीय प्रारम्भिक सूचीमा मकवानपुरका १४ जना छनोट भएका छन् । बागमती प्रदेश फुटबल संघले १ सय ३७ जना खेलाडीहरुको नाम सार्वजनिक गर्दा मकवानपुरका १४ जना खेलाडीहरु छनोटमा पर्न सफल भएका हुन् ।

बागमती प्रदेशको १३ वटा जिल्लाको फुटबल संघहरुले आयोजना गरेको छनोट प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई दोस्रो चरणको लागि छनोट गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ वर्ष उमेर समूहका किशोर खेलाडी उत्पादन गर्ने उद्देश्यले बागमती प्रदेशको १३ जिल्लालाई खेलाडी छनोट गर्ने निर्देशन दिएको थियो ।

एन्फाको निर्देशनअनुसार विभिन्न जिल्लाले आयोजना गरेको यु–१३ छनोट प्रतियोगिताको प्रारम्भिक छनोटमा पर्न सफल भएका खेलाडीहरु प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी भएका हुन् । मकवानपुर जिल्लाबाट पहिलो चरणमा छनोट भएका ३७ जनामध्ये १४ जना किशोर खेलाडीहरु अन्तिम चरणको प्रतियोगिताका लागि छनोट भएका हुन् । चैत २७ गतेदेखि २९ गतेसम्मको प्रदेशस्तरीय प्रतियोगिताबाट बागमती प्रदेश फुटबल संघले १ सय ३७ जना खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाको संयजकत्वमा १३ वर्ष उमेर समूहका खेलाडीहरु सहभागी भएका हुन् । हेटौंडा–१० स्थित वनविज्ञानको चौरमा प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीहरुको खेल प्रदर्शनी तथा कौशलताको आधारमा छनोट गर्नुभएको हो ।

मकवानपुर जिल्लाबाट छनोट हुनेमा समरिक तितुङ, अवेग लोप्चन, रोजिन मर्साङ्गी, अभिराज थापा, देनिश गोले, सम्पर्ण विक, नेहाल लामा, स्मित म्यामी मगर, रोहित वाईबा, रिजन लामा, सम्या राज पौड्याल, एञ्जल स्याङ्तान, प्रशान्त घलान र सोहित वाईबा रहेका छन् । मकवानपुर जिल्लाबाट प्रारम्भिक छनोटमा पर्न सफल भएका खेलाडीहरुलाई हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाले प्रशिक्षण दिनुभएको हो ।

मकवानपुर जिल्लाको प्रतिनिधित्व गरेर प्रशिक्षक लामा पनि खेलाडीहरुसँगै काठमाडौं जानुभएको थियो । प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले बैशाख ५ गतेदेखि १० गतेसम्म काठमाडौंको सातदोबाटोमा हुने अन्तिम चरणको प्रतियोगिता सहभागी हुन पाउनेछन् । प्रदेशबाट छनोट भएका १ सय १८ जना खेलाडीबीच प्रतिस्पर्धा गराएर बैशाख ५ गते अन्तिम चरणका खेलाडीहरुको नाम सार्वजनिक गरिनेछ ।

एन्फाको आयोजनामा हुने अन्तिम चरणको प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई एन्फाकै नेतृत्वमा ४ वर्षसम्म प्रशिक्षण दिइनेछ । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई विभिन्न प्रकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइने जनाइएको छ ।