हेटौंडाः हेटौंडा–४ स्थित भूटनदेवी माविले शैक्षिक सत्र २०८१ का लागि ३ सय नयाँ विद्यार्थी भर्ना गर्ने भएको छ । विद्यालयले बाल विकास कक्षादेखि सिभिल इन्जिनियरिङ सहितको कक्षा ९ सम्म ३ सय ३ जना नयाँ विद्यार्थी भर्ना गर्ने भएको हो ।
विद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि गत चैत २८ गतेबाट भर्ना फर्म वितरण सुरु गरेको विद्यालयका सहायक प्रधानाध्यापक वेदराज कोइरालाले जानकारी दिनुभयो । नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको फर्म वितरण सुरु गरेको उहाँले बताउनुभयो । बैशाख ९ गते सम्म फारम भरिसक्नुपर्ने र १० गते प्रवेश परीक्षा हुने सहायक प्रधानाध्यापक कोइरालाले जानकारी दिनुभयो ।
विद्यालयको कक्षा १ देखि ५ सम्मको वार्षिक परीक्षाको नतिजा चैत २३ गते प्रकाशन भएको थियो भने ६,७ र ९ कक्षाको वार्षिक परीक्षाको नतिजा चैत २८ गते प्रकाशन भएको थियो । गत शैक्षिक सत्रमा विद्यालयका ७२ जना विद्यार्थीहरु अनुत्तीर्ण भएको सहायक प्रधानाध्यापक कोइरालले बताउनुभयो । कक्षा–८ को बीएलई परीक्षाका लागि दुई सय ३२ जना विद्यार्थीहरुले परीक्षा फारम भरेकोमा दुई सय २९ जना विद्यार्थीहरुले परीक्षा दिएको र २ सय १६ जना उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो ।
अनुशासित, गुणस्तरीय र प्रयोगात्मक शिक्षाः हाम्रो प्रतिवद्धता, इन्जिनियरिङ शिक्षा भूटनदेवी माविको विशेषता भन्ने नाराका साथ सोमबार बिहान घरदैलो कार्यक्रम गर्ने उहाँले बताउनुभयो । शैक्षिक सत्र २०८१ मा विद्यार्थीहरुको नतिजा थप सुधारका लागि आईसीयू कक्षा सुरु गरिने सहायक प्रधानाध्यापक कोइरालाको भनाइ छ । यस्तै, प्रोक्सी कक्षाको सञ्चालन र आवश्यकता अनुसार थप अतिरिक्त कक्षा सञ्चालन गर्नुका साथै विद्यालयलाई प्रविधिमैत्री र सिकाइमैत्री बनाउने योजना रहेको उहाँले बताउनुभयो ।