जिल्ला समन्वय समितिको अनुगमन टोली बकैया गाउँपालिकाको अनुगमनका क्रममा ।

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका पदाधिकारीले आईतबार बकैया गाउँपालिकाको अनुगमन गरेका छन् । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाको चालु आर्थिक वर्षको समग्र प्रगतिको अवस्थाका विषयमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका काम तथा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल भएको थियो । छलफलमा जिसस प्रमुख खुलालले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण गर्दा प्राथमिकता निर्धारण गरेर छनोट गर्न सुझाव दिनुभएको छ ।

उहाँले आगामी नीति, कार्यक्रम तथा बजेट निर्माण गर्दा भौतिक पुर्वाधारसँगै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई विशेष प्राथमिकता दिन सुझाव दिनुभयो । विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ध्यानमा राखेर रोजगार उन्मुख बजेट निर्माण गर्न उहाँले सुझाव दिनुभयो । त्यस्तै प्रमुख खुलालले पुर्वाधार निर्माणमा प्राविधिक पक्षलाई ध्यान दिन, सामाजिक क्षेत्रमा पनि उत्तिकै ध्यान दिन सुझाव दिनुभयो । प्रमुख खुलालले आगामी बजेटमा सहयोगापेक्षी सडक मानव व्यवस्थापनका लागि तथा स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि बजेट व्यवस्थापन गर्न सुझाव दिनुभयो । विद्यालय शिक्षाका लागि अनलाईन कक्षा व्यवस्थापनका साथै विपद व्यवस्थापनका क्षेत्रमा योजनाबद्ध तयारी गर्न सुझाव दिनुहुँदै सुचनाको क्षेत्रमा ठोस योजना निर्माण गर्न, स्थानीय तहको आय बृद्धिका लागि ढुंगा गिट्टी बालुवाको व्यवस्थित रुपमा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । छलफलमा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले आन्तरिक आयको बृद्धिमा ध्यान दिँदै लक्षित वर्गका कार्यक्रमहरुलाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सुझाव दिनुभयो ।

छलफलका क्रममा गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्षमण पुडासैनीलगायत विभिन्न शाखाका कर्मचारीहरुले चालु आर्थिक वर्षको समग्र प्रगति तथा समस्याका बारेमा जानकारी गराएका थिए । गाउँपालिका अध्यक्ष दामोदर खनालले चालु आर्थिक वर्षमा सबै वडाबाट गाउँपालिका केन्द्र जोड्ने सडक सञ्जाल तयार भएको बताउनुभयो । उहाँले विशेषगरी पुर्वाधार विकासमा वन क्षेत्रले समस्या सृजना गरेको समेत बताउनुभयो । यो वर्ष बाटो घाटो र विद्युतीकरणलाई नै प्राथमिकता दिएर काम भएको अध्यक्ष खनालले जानकारी दिनुभयो । उहाँले जिल्ला समन्वय समितिबाट सहजीकरणका क्षेत्रमा थुप्रै सहयोग प्राप्त भएको र आगामी दिनमा समेत अझ बढी सहयोग र सहकार्यको अपेक्षा गरेको समेत बताउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष सरला बोलखेले लकडाउनका कारण थुप्रै कामहरु गर्न नसकिएको बताउनुभयो । यसै वर्ष बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य रहेको तर लकडाउनका कारण बालमैत्रीका केहि सुचकहरुमा काम गर्न नसकेकाले घोषणा हुन नसकेको बताउनुभयो । उहाँले गाउँपालिकामा बालविवाह मुल समस्याका रुपमा रहेको भन्दै यसको समाधानका लागि विभिन्न योजना बनाएर काम गरिरहेको बताउनुभयो । उपाध्यक्ष बोलखेले रोजगारी सृजना हुने खालका कार्यक्रम, कृषिमा व्याज अनुदान, पशु बीमामा सहयोग कार्यक्रम, भैसी पकेट क्षेत्र प्याकेज, दुधमा एक रुपैयाँ अनुदान, टनेल खेतीमा अनुदान कार्यक्रम, निशुल्क रगत कार्यक्रम, घरघरमा एम्बुलेन्स कार्यक्रम जस्ता महत्वपुर्ण कार्यक्रमहरु यस वर्ष भएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा करिब ७० करोडको बजेट निर्माण हुने संकेत बताउनुभयो ।

छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले गाउँपालिकाको कुल बजेट मध्ये चालुतर्फ करिब ५७ प्रतिशत र पुँजीगत तर्फ करीब २२ प्रतिशत खर्च भएको बताउनुभयो । उहाँले कतिपय योजनाको भुक्तानी बाँकी रहेकाले खर्च प्रतिशत असार मसान्तसम्ममा बढ्ने बताउनुभयो । उहाँले यो वर्ष करिब ८० देखि ९० प्रतिशत बजेट खर्च हुने बताउनुभयो । अनुगमन टोलीले गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन समेत गरेको थियो । सो क्रममा प्रदेश सरकारको ५० लाख सहयोग र गाउँपालिकाको ५० लाखमा निर्माण भएको सडक, जिससको मौजदात कोषबाट एक करोडलागतमा निर्माण भइरहेको खानेपानी आयोजना, गौतमबुद्ध पर्यटन पार्क, निर्माणाधिन फुटबल मैदानलगायत योजनाको अनुगमन गरिएको थियो । अनुगमन टोलीमा समन्वय अधिकारी आनन्दराज पोखरेल, जिससका सदस्य देवराज रिमाल, जिससका शाखा अधिकृत भीमलाल मर्जजन, नायब सुब्बा उपेन्द्र पोखरेललगायतको सहभागिता थियो ।