हेटौँडा : वनमा लागेको डँढेलोबाट गोठ बचाउन खोजेका भीमफेदी गाउँपालिका–१, नयाँगाउँका ४९ वर्षीय अकिलबहादुर पाख्रिनको भीरबाट लडेर मृत्यु भएको छ ।
बुधबार राती ११ बजेको समयमा श्रीमति बीपीमाया पाख्रिन र दाई नाता पर्ने रत्नकुमार पाख्रिनसहित घरदेखि एक सय मिटर टाढा रहेको बोकेदह सामुदायिक वनमा लागेको आगो गोठमा आउने जोखिम देखेर आगोबाट गोठ बचाउने प्रयासमा वनमा पुगेका अकिलबहादुर भीरबाट लडेका थिए । भीरबाट झण्डै २ सय मिटर तल खसेका अकिलबहादुरलाई बिहीबार बिहान ६ बजेको समयमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भीरबाट लडेका अकिलबहादुरको शव भोर्लाको लहरामा अड्किएको र डँढेलोले जलेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।










