आज छैठौं अन्तर्राष्ट्रिय योग दिवस । वैदिक विधिअनुसार योगाभ्यासले व्यक्तिको मानसिक एवम् शारीरिक स्वास्थ्यमा सकारात्मक लाभ हुने पुष्टि समेत गरेको छ । मकवानपुर जिल्लामा पनि पछिल्लो समय योगको अभ्यासलाई विस्तार गर्ने कार्य भइरहेको छ । पतञ्जली योग जिल्ला समितिले योगको अभ्यासलाई व्यापक बनाउने प्रयास गरिरहेको छ । आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग जिल्ला समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापासँग समाज संवाददाता सुसन लामिछानेले गर्नुभएको कुराकानीः
योग दिवसको अवसरमा के कस्ता कार्यक्रमहरु गर्दै हुनुहुन्छ ?
थापाः आज छैठौं अन्तर्राष्ट्रिय योग दिवस जुन २१ । दिवसको हामीले सप्ताहव्यापी कार्यक्रम तय गरेका थियौं । हामीले असार १ गते अन्तर्राष्ट्रिय योग दिवसको महत्व, संयुक्त राष्ट्र संघले यो दिवसलाई मान्यता किन दियो भन्ने बारे छलफल गरेका थियौं । दोस्रो दिन घरघरमा परिवारका सदस्यहरुबीच योग र आयुर्वेदको चर्चा गरेर झाडापखाला लाग्दा के–कस्ता घरेलु औषधी प्रयोग गर्नहुन्थ्योे यसमा चर्चा भयो । तेस्रो र चौथो दिनमा विद्वानहरुसँग अहिलेको जिवनशैलीमा आहार विहार, जिवनशैली, डिप्रेशसन, आत्महत्या, धैर्य गर्न नसक्नु लगायतका बारेमा अनलाइनबाटै छलफल ग¥यौं । यस्तै शनिबार छैठौं दिनमा रक्तदान कार्यक्रमको आयोजना भएको थियो जसमा २० जनाले रक्तदान गर्नुभयो । शनिबार नै योग, हवन, गर्दा वायुमण्डलमा के फरक हुन्छ भन्नेबारे चर्चा भयो । यस्तै आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुभकामना दिएर अनलाइनमा भिडियो मार्फत योगको चर्चा गरेर मनाउने तयारी छ ।
योगको के कस्ता महत्व छन् ?
थापाः अहिलेको २१ औं शताब्दीमा मानिसहरु रोग निको नभएपछि, थलिएपछि बल्ल योग, आयूर्वेद औषधी प्रयोग गर्ने चासो दिने गर्छन् । अहिलेका नयाँ युवाले योगबाट धेरै रोगहरु निको हुनेरहेछ भनेर अध्ययनमा पनि लागेका छन् । आयूर्वेद, कविराजतर्फ हिजो आयूर्वेदका बारेमा नसुनेका व्यक्तिहरु पनि अध्ययन गर्न थालेका छन् । डिप्रेसन, पाठेघरका, सुगर र नसाका बिरामीहरुलाई योग गर्दा धेरै फाइदा पुगेको छ । यसकारण यसका योगको महत्व निकै छ ।
योगप्रति आम मानिसका धारणा कस्तो पाउनुभएको छ ?
थापाः योग अहिले प्रयोग नै भएको छैन भनेर एउटा वर्गले यसलाई हेर्ने गरेको छ । व्यवहारमा प्रयोग भैसकेका यो ज्वरो आउँदा, पखाला लाग्दा यो औषधी प्रयोग गर्नुपर्छ भन्नेहरु पनि छन् । अहिले एन्टिवायोटिकको प्रयोग कम हुँदै गएको अवस्थामा यो आयूर्वेद र योगको प्रयोग बढ्दै गएको छ ।
योगको अभ्यासलाई आम नागरिकले सहजताका साथ आत्मसात गर्न के समस्या छन् ?
थापाः केही समस्या छैन । बिहान सूर्योदय हुनुभन्दा पहिले गर्नुपर्छ । बिहान उठेर आउँदा हाम्रो मकवानपुरमा जिल्लाम ३५ वटा योग सेन्टरबाट डेढदेखि २ घण्टा योग शिविर निशुल्क हुन्छ ।
योगको नियमित अभ्यास गर्नेहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
थापाः गत वर्ष डेंगु लाग्नेहरुको तुलनामा नियमित योग गर्ने योगीहरुलाई डेंगु नै लागेन भन्ने पनि पाएँ । रगतमा प्लेटलेट्सको मात्रा नघट्ने प्रतिक्रिया आएका छन् । अन्य सामान्य मान्छेमा भन्दा बढी फुर्तिलोपना, जोश, जाँगर हुने पाइएको छ ।
आम मानिसलाई योगका बारेमा के भन्न चाहनुहुन्छ ?
थापाः हामीजस्तो गरिब मुलुकलाई योग अत्यन्त सहज र सर्वसुलभ छ । यसमा विश्वास गरेर अगाडि बढ्नुपर्छ । पैसा खर्च हुँदैन । खानपान, आहार र भोजनमा नै हामी स्वस्थ हुन सक्छौं । सबैले योग गरौं स्वास्थ्य रहौं । कोरोनामाथि विजय हौं । भन्दै अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्न चाहन्छु ।