हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–२, राईगाउँमा मकै खेतीमा किसानहरुको आकर्षण बढ्न थालेको छ । स्थानीय सरकारबाट उन्नत जातको बीउ र कृषियन्त्रको अनुदानले किसानहरु मकै खेतीमा आकर्षित हुन थालेका हुन् ।
बागमती–२ का वडाध्यक्ष जनक पहरीले वडाले मकैको बीउ वितरण र कृषियन्त्र वितरण गरेसँगै राईगाउँमा किसानहरु मकै खेतीतर्फ आकर्षित हुन थालेको बताउनुभयो । वडाले चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँको मकैको बीउ २ सय २१ जना किसानलाई वितरण गरेको छ । किसानहरुलाई १ हजार २ सय ७० किलो श्रेष्ठ जातको हाइब्रिड मकैको बीउ वितरण गरेकोमा अहिले ६४ विघामा मकै खेती भइरहेको छ । वडाध्यक्ष पहरीले चालु आर्थिक वर्षमा वडाभित्र ३० वटा कृषि मोटर अनुदानमा दिएको र १० वटा वितरण गर्ने चरणमा रहेको बताउनुभयो ।
अहिले क्रेन सिंचाईमार्फत् बागमती खोलाको पानी खेतसम्म ल्याउन सफल भएपछि मकै खेती गर्न सम्भव भएको हो । यसअघि दुई बालीमात्र हुने र हिउँदको समयमा जमिनहरु खाली हुने गर्दथ्यो । वडाध्यक्ष पहरीका अनुसार अझै पनि सिंचाई पर्याप्त छैन ।
मकै खेतीको अवस्थाबारे अनुगमन गरिँदै पालिकाका कर्मचारी र किसानहरु ।
राईगाउँको सबै खाली खेतीयोग्य जमिनमा उत्पादन भएमा राईगाउँलाई अन्न भण्डारको रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । उहाँले सरकारको लगानी र जनताको श्रम भन्ने अभियानका साथ खेतीयोग्य जमिनहरु खाली नराख्ने उद्देश्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको छ । उहाँले आगामी आर्थिक वर्षमा १० करोड रुपैयाँ बराबरको मकै उत्पादन गर्ने लक्ष्य वडाले लिएको बताउनुभयो । खेतीयोग्य जमिन खाली भएमा वडा आफैंले भाडामा लिएर खेती गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । मकै खेती राम्रो भएमा भोकमरीको अन्त्य र गरिबी पनि कम उहाँको विश्वास छ ।
पालिकाका आर्थिक तथा कृषि शाखाका संयोजक उत्तरबहादुर भोलनले राईगाउँ क्षेत्रमा पहिला उदासलाग्दो जमिनमात्र भएकोमा अहिले मकै खेतीले हरियाली भएको बताउनुभयो । अहिले किसानहरुको उपलब्धीमूलक मिहिनेत मकै खेतीमा देखेको उहाँको भनाइ छ । सरकारले यो क्षेत्रमा कृषिको विकास गर्न थप बजेट विनियोजन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
पहिला आत्मनिर्भर हुनका लागि गर्ने मकै खेती अहिले व्यावसायिक बन्दा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाले किसानलाई मध्यनजर गर्दै कृषि क्षेत्रमा बजेट विनियोजन गरेको बताउनुभयो । यसवर्ष पालिकाले कृषि क्षेत्रमा ३ करोडभन्दा बढी बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
पालिकाका कृषि शाखाका प्रमुख तथा कृषि प्राविधिक वीरेन्द्र समालले थोरै लगानीमा मकै खेती गर्न सकिने बताउनुभयो । उहाँले राईगाउँ मकै खेतीका लागि उपयुक्त उर्वरभूमि भएको बताउनुभयो । अहिले स्थानीय सरकारले बीउ र सिंचाईको व्यवस्था गरेपछि किसानलाई खेती गर्न सहज भएको उहाँको भनाइ छ । वडाको बजेटमा कृषि कार्यक्रमअन्तर्गत् मुख्य बालीको रुपमा मकैलाई प्रवद्र्धन गर्न र आयआर्जन गर्न मकै खेतीमा बढी लगानी गरेको उहाँले बताउनुभयो । उहाँले किसानहरुलाई खेती गर्नुभन्दा अगाडि खेतीबारे निःशुल्क तालिम दिएको बताउनुभयो । पालिकाका कृषि प्राविधिकहरुले समयमा अनुगमन गर्दा यसवर्ष फौजी किरा लाग्न नपाएको उहाँको भनाइ छ । उहाँले अहिले भइरहेको मकै खेती सिंचाईबाट सम्भव भएको बताउनुहुँदै अझै सिंचाईको समस्या समाधान भएमा यस क्षेत्रलाई अन्न उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले यस वर्ष मकैबाट १ करोडभन्दा बढी आयआर्जन हुने अनुमान गरिएको बताउनुभयो ।
कृषक विक्रमकुमार घिमिरेले अहिले आफू मकै खेतीमा लाग्दा खुशी रहेको बताउनुभयो । गत वर्ष आफैंले ५ कठ्ठा जमिनमा मकै खेती गर्दा ५० हजार रुपैयाँभन्दा बढीको मकै बेच्न सफल भएको भन्दै उहाँले यो पटक मकैको बीउ पनि अनुदानमा पाएको र मकै राम्रोसँग सप्रेका कारण ३ लाख रुपैयाँभन्दा बढीको आर्यआर्जन हुने अनुमान गरेको बताउनुभयो । घिमिरेले अहिले २५ कठ्ठा जग्गामा मकै खेती गर्नुभएको छ । मकै खेती गर्नुभन्दा अगाडि त्यो जमिनहरु सबै बाँझो नै हुने उहाँको भनाइ छ । अहिले सिंचाई, मकै बीउ अनुदान र कृषि प्राविधिकहरुको सहयोगले मकै खेती भइरहेको उहाँको भनाइ छ ।
अर्का किसान नारायणप्रसाद देवकोटाले राईगाउँमा सिंचाईको सुविधा हुन थालेसँगै मकै खेती बढ्न थालेको बताउनुभयो । योभन्दा अगाडि आफूले आफ्नै लगानीमा पानी तान्ने मोटर किनेर गतवर्ष १ लाख २० हजार रुपैयाँको मकै बिक्री गर्न सफल भएको उहाँले बताउनुभयो । यसपटक आफूले १६ कठ्ठामा मकै खेती गरेको उहाँले बताउनुभयो । कार्तिकमा रोपेको मकै चैत अन्त्यसम्म पाक्ने उहाँले बताउनुभयो । मकै उत्पादन र आम्दानी दुबै हुने बताउनुहुँदै उहाँले पालिकाले अझै कृषिमैत्री कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।