कृषकलाई बोयर जातको बोका वितरण गरिँदै ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले कृषकहरुलाई ११ वटा बोयर जातको बोका वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच शुक्रबार विभिन्न वडाका ११ जना कृषकलाई ११ वटा उन्नत जातको बोयर बोका वितरण गरेको हो ।

व्यावसायिक पशुपालन प्रबद्र्धन कार्यक्रम अन्तर्गत् गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका वितरण गरेको हो । बोका वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले व्यावसायिकरुपमा बाख्रा पालन गरे स्थानीय सरकारले पूर्णरुपमा सहयोग गर्ने बताउनुभएको छ ।

वडाको मागअनुसार मौरी, चिउरी, गाईलगायतका विभिन्न कृषिमा निर्भर हुने आयमूलक कार्यमा सहयोग रहने उहाँले बताउनुभयो । ‘हाम्रो क्षेत्रमा बाख्रा पालनको लागि राम्रो ठाउँ भएकाले बाख्रा पकेट क्षेत्र बनाउँदैछौं’, अध्यक्ष मल्लले भन्नुभयो– ‘बाख्राको लागि उन्नत घाँसको व्यवस्था पनि हुनेछ ।’
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, पशुपछी शाखाका संगम विश्वकर्मालगायतको आतिथ्य रहेको थियो ।