विशेषगरी किशोरकिशोरीमा केही दिनदेखि भ्यालेन्टाइन डेको चर्चा चलिरहेको छ । हरेक वर्ष १४ फेब्रुअरीका दिन विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रणय (प्रेम) दिवस मनाइने गरिन्छ । करिब ३ दशकबाट नेपालमा यो दिवस मनाउने प्रचलन सुरु भएको पाइन्छ । तर, पछिल्ला वर्षहरुमा यसले व्यापकता पाउँदै गएको छ । यसलाई सप्ताहव्यापी उत्सवको रुपमा पनि मनाउने गरिएको छ । फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ । भ्यालेन्टाइन सप्ताहको पहिलो दिन फेब्रुअरी ७ लाई ‘रोज डे’ को रुपमा मनाइन्छ । यस दिन आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार प्रदान गरेर एक अर्काप्रतिको सम्मान र माया दर्शाउने गरिन्छ । भ्यालेन्टाइन सप्ताहअन्तर्गत् फेब्रुअरी ८ मा ‘प्रपोज डे’, फेब्रुअरी ९ मा ‘चकलेट डे’, फेब्रुअरी १० मा ‘टेडी डे’, फेब्रुअरी ११ मा ‘प्रमिस डे’, फेब्रुअरी १२ मा ‘हग डे’, फेब्रुअरी १३ मा ‘किस डे’, फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ पर्छ ।

तेस्रो शताब्दीको अन्त्यतिर रोमन सम्राटले सेन्ट भ्यालेन्टाइनलाई आफ्नो आदेश नमानेको निहुँमा १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिएको सम्झनामा यो दिवस मनाउन थालेको मानिन्छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरु प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो । त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए । सोही राज्यका पादरी भ्यालेन्टाइनले सम्राटको निर्णयलाई मानेनन् । अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्दै भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाहको कार्यक्रम गरेका थिए । आफ्नो आदेशको उल्लंघन भएको भन्दै सम्राटले उनलाई मृत्युदण्ड दिएको दिनलाई प्रणय दिवसको रुपमा मनाउने चलन सुरु भएको मानिन्छ । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित भए पनि अहिले यसको प्रभाव विश्वव्यापी बनेको छ ।

प्रेमी भ्यालेन्टाइनको सम्झनामा विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रणय दिवसका रुपमा मनाउने यस दिवसले नेपाली युवायुवतीमा व्यापक जरो गाड्दै गइरहेको देखिन्छ । आजभोलि गाउँ, शहर जताततै भ्यालेन्टाइन डेको चर्चा हुने गरेको छ । विशेषगरी शहरीया युवा तथा किशोरकिशोरीमा भ्यालेन्टाइन डेको निक्कै प्रभाव परेको छ । भ्यालेन्टाइन डेको प्रभाव केही वर्षयतादेखि हाम्रो समाजका विवाहित जोडी र प्रौढहरुमा पनि देखिन थालेको छ । भ्यालेन्टाइन डे मनाउने परिपाटीले देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकाबीच विभिन्न उपहार आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिन थालिएको छ । प्रेमको नयाँ सुरुआतमा रहेकाहरुले भ्यालेन्टाइन सप्ताहलाई चुकाउन नहुने महत्वपूर्ण अवसरको रुपमा मान्न थालेका छन् । यस दिवसले सच्चा प्रेमको महत्व दर्शाउने अधिकांंशको बुझाइ भए पनि अचेल प्रेमलाई अस्थायी रोमान्स ठान्ने जमात बढिरहेको छ । प्रेममा प्रतिबद्धता र गन्तव्य निर्धारण नगरी अघि बढ्ने किशोरकिशोरी तथा युवायुवतीहरु बढ्दै गएका कारण समाज विकृत बन्नसक्ने आशंका गर्नेहरु थुप्रै छन् ।

पछिल्लो समय विवाहित तथा अविवाहित जोडीहरुबीच प्रेम सम्बन्धलाई प्रगाढ बनाउने गतिलो माध्यम भ्यालेन्टाइन डे बन्दै आएको छ । यो नेपाली मौलिक संस्कृति नभई आयातित संस्कृति भएकाले धेरैले यसको बिरोध गर्ने गरेका छन् । युवापुस्तामा यसले लोकप्रियता पाउँदै गएको भए पनि नेपाली समाजले अझै यस्ता संस्कृतिलाई स्वीकार गर्न सक्ने अवस्था छैन । अरु समाजमा चलेका राम्रा संस्कारहरुलाई आत्मसात् गर्ने समाजको प्रगति हुन्छ । यसकारण भ्यालेन्टाइन डेको राम्रो संस्कृतिलाई आत्मसात् गर्नु अन्यथा हुँदैन । कानुनी सीमा र नैतिक मर्यादाभित्र रहेर प्रणय दिवस मनाउनुलाई सकारात्मक मान्न सकिन्छ । तर, भ्यालेन्टाइन डेको नाममा अहिले नेपाली समाज र यहाँका किशोरकिशोरीमा देखिएको छाडापन र विकृतिले नेपाली संस्कृतिमाथि प्रहार गर्नुका साथै विकृति बढाउने सम्भावनालाई नकार्न सकिँदैन ।