हेटौँडाः आधारभूत तयारी समेत नगरी बागमती प्रदेश सरकारले भ्रमण वर्ष २०२४ घोषणा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष मनाउने निर्णय गरेर आवश्यक तयारी नै नगरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सोमबार हेटौँडामा पत्रकार सम्मेलन गरेर प्रदेश भ्रमण वर्ष सुरु भएको घोषणा गर्नुभयो ।
मन्त्रालयका सचिव गोविन्द रिजाल, मन्त्रालयका कर्मचारीको उपस्थितिमा सोमबार हेटौँडामा पत्रकार सम्मेलन गरेर प्रदेश भ्रमण वर्षको घोषणा गरिएको हो । ठोस् लक्ष्य, योजना, कार्यक्रम बिना नै भ्रमण वर्ष घोषणाको गरिएको छ । सचिव रिजालले बागमती प्रदेश भ्रमण वर्ष २०२४ का लागि एक करोड रुपैयाँ बजेट स्वीकृत भएको जानकारी दिनुहुँदै प्रचारप्रसारका लागि ब्रोसर, टिसर्ट छाप्ने काम बाँकी नै रहेको जानकारी दिनुभयो । मन्त्री पुकार महर्जनले तयारी नगरिएको विषय स्वीकार्नुहुँदै त्रुटी सच्याएर आवश्यक तयारी गर्ने बताउनुभएको छ ।
मन्त्रालयको बजेट स्वीकृत भए पनि उक्त बजेट पर्याप्त नभएको भन्दै मन्त्रालयका सचिव रिजालले २ करोड भन्दा बढी बजेट थप गर्न माग गरिएको जानकारी दिनुभयो । उहाँले छिट्टै औपचारिक कार्यक्रम गरेर भ्रमण वर्षको भव्य सुरुवात गर्ने बताउनुभएको छ । सञ्चार माध्यममार्फत श्रव्य–दृश्य सामग्री प्रकाशन, प्रसारण गरिने उल्लेख गर्नुहुँदै सचिव रिजालले भन्नुभयो, “उचित नारा बनाउनेदेखि ब्रोसर बनाउने, टिसर्ट तयार पारेर व्यापक प्रचारप्रसार गर्छौं, पर्यटकीय क्षेत्रको नक्सा पनि हामी तयार पार्छौं । स्थानीय पर्यटकीय क्षेत्रका व्यवसायीसँग सहकार्य गरेर प्रवद्र्धनात्मक कार्यक्रम गर्छौं ।”
प्रदेश भ्रमण वर्ष घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका अधिकारीले मन्त्रालयको तर्फबाट शुभकामना मन्तव्य वाचन गरेर सुनाए । लिखितरुपमा प्रस्तुत गरिएको मन्त्रालयको शुभकामनापत्रमा प्रदेशका विद्यमान पर्यटकीयस्थल र सम्भावनाको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रचारप्रसाद गरी पर्यटकीय गतिविधि अभिवृद्धि गरी प्रदेशको अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख गरिएको छ । बागमती प्रदेशको आफ्नै मौलिक पहिचान रहेको र ऐतिहासिक एवम् पुराना सहर, बस्तीहरुका साथसाथै कला, संस्कृति, चाडपर्व र रहनसहनको उचित प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्न सकिने दावी गरिएको छ ।