उपाधि विजेता एपीएफलाई ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडामा जारी खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी न्यू डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

उपाधि हात पारेसँगै एपीएफले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता न्यु डायमण्डले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले ट्रफी हस्तान्तरण गर्नुभयो । एपीएफले अपराजित यात्रालाई कायम गर्दै उपाधी जितेको हो । समूह चरणको खेलमा न्यू डायमण्ड एपीएफसँग २–३ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा तीन विभागीय टोली र घरेलु टोली छहारी युवा क्लबसहित ५ टिमको सहभागिता रहेको थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो ।