नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । कक्षा १२ सम्मको विद्यालयको उचित व्यवस्थापन र शैक्षिक सुधारको जिम्मा गाउँ तथा नगरपालिकामा आएको छ । स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार आएपछि शिक्षामा केही नवीनतम् प्रयासहरु सुरु भएका छन् । सबै स्थानीय तहहरुले विद्यालय शिक्षाको उन्नयनमा पर्याप्त ध्यान दिन नसकेको भए पनि कतैकतै केही नयाँ प्रयोगहरु सुरु हुनुलाई सकारात्मक मान्नुपर्छ । हुन त स्थानीय तहहरुले आफ्नो भौगोलिक अनुकूलता तथा आवश्यकताअनुरुपको शैक्षिक व्यवस्थापन गर्न सकिरहेका छैनन् । संघीय सरकारले शिक्षा ऐन बनाउन नसक्दा स्थानीय तहहरुसमेत अलमलमा परिरहेका हुन सक्छन् । तै पनि स्थानीय सरकारले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्दै सीपमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न पर्याप्त प्रयत्न हुन सकेको छैन ।

शैक्षिक क्षेत्रको विकासमा स्थानीय तहहरुको भूमिका सन्तोषजनक नबनिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ ले भने केही सकारात्मक सुरुवात गरेको छ । वडा कार्यालयले गत शैक्षिक सत्रबाट आफ्नो बजेट तथा क्रियाकलापलाई शैक्षिक विकासमा केन्द्रित गर्दै लगेको छ । वडा कार्यालयले शनिबार वडाभित्रका सबै सामुदायिक (सरकारी) र संस्थागत (निजी) विद्यालयहरुलाई एकै ठाउँमा राखेर असल अभ्यासहरुको आदानप्रदान गरेको छ । सरकारी र निजी विद्यालयबीच स्वस्थ प्रतिस्पर्धासँगै समन्वय र सहकार्य वृद्धि गर्न यो कार्यक्रम उपयुक्त देखिएको छ । वडा कार्यालयकै अग्रसरतामा गत वर्ष शैक्षिक गुणस्तर सुधार समिति गठन गरिएको छ । वडाभित्रका ३ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयको प्रतिनिधित्व रहनेगरी समिति गठन गरिएको छ । सोही समितिको व्यवस्थापनमा वडा कार्यालयले उदाहरणीय शैक्षिक क्रियाकलाप अघि बढाइरहेको छ ।

चालु आर्थिक वर्षमा वडाका लागि दिइएको बजेट सिलिङ (करिब २ करोड रुपैयाँ)को झण्डै एक तिहाई बजेट शिक्षा क्षेत्रमा छुट्याइएको वडा अध्यक्षको दावी छ । संघीय सरकारले विद्यालयका शिक्षकको तलब सुविधासहित करिब ११ प्रतिशतमात्र बजेट शिक्षामा छुट्याइरहेको अवस्थामा एउटा वडाले एक तिहाई बजेट शिक्षामा लगाउनुलाई सामान्य मान्न सकिन्न । सरकारले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासमा खर्च गर्दै आएको भए पनि वडा कार्यालयले सबैजसो शैक्षिक क्रियाकलापमा निजी विद्यालयलाई पनि सहभागी गराउनुले निजी र सरकारी विद्यालयबीच सहकार्यको वातावरण बनेको हो । सोमबारको कार्यक्रममा वडाभित्रका सामुदायिक र संस्थागत विद्यालयले आ–आफ्ना विद्यालयमा गरिएका सकारात्मक प्रयास र असल अभ्यास प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी विद्यालयका नेतृत्व तथा शिक्षक एवम् शैक्षिक सरोकारवालाहरुले यस प्रकारको अभ्यासको खुलेर प्रशंसा गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा मकवानपुरको मात्र नभई देशकै शैक्षिक केन्द्र बन्दै गइरहेको छ । वडाभित्र ८ वटा विद्यालयमा करिब ८ हजार र दुई वटा कलेजमा करिब ६ हजार विद्यार्थी अध्ययनरत छन् । एउटै वडामा झण्डै १५ हजार विद्यार्थी अध्ययनरत रहेका कारण पनि वडाको ध्यान शैक्षिक विकासमा जानु स्वभाविक देखिन्छ । वडाले विद्यालयहरुको भौतिक विकाससँगै शिक्षकको क्षमता अभिवृद्धि, विद्यार्थीको सृजनात्मक क्षमता विकास र प्रतिभा प्रष्फुटनका लागि गरेका कार्यक्रमलाई उपमहानगरकै अन्य वडाहरुले पनि अनुशरण गर्न थालेका छन् । वडाका जनप्रतिनिधि र शैक्षिक गुणस्तर सुधार समितिले गरेका क्रियाकलापले वडाभित्रका विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सघाउने निश्चित देखिन्छ । सामुदायिक र संस्थागत विद्यालयबीचको सहकार्य र समन्वयले यहाँका विद्यार्थी तथा अभिभावक लाभान्वित हुन सक्छन् । विभिन्न विद्यालयमा अवलम्बन गरिएका असल अभ्यासलाई अन्य विद्यालयले पनि कार्यान्वयन गर्दा सबै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।