भनाइ नै छ, “जग बलियो भए घर पनि बलियो हुन्छ ।” यो भनाइको सामान्यीकरण हरेक क्षेत्रमा गर्न सकिन्छ । जमिन राम्रो भए बाली सप्रन्छ भनेझैँ । सामान्य आर्थिक स्रोत हुनेले थप आर्थिक उन्नति गर्न सक्छ भनेझैँ । नेतृत्वको बलियो आधार सामाजिक सम्बन्ध हुनसक्छ । लेखन सीप राम्रो हुने पत्रकार र लेखक बन्न सक्छ । स्वर मीठो भएको व्यक्ति गायक बन्न सक्छ । आदि आदि । जसरी भने पनि सारमा कुरा यही हो । आधार बलियो भयो भने त्योभन्दा माथि अभ्यास र तालिम मिल्दा सबै बलियो हुन्छ । राम्रो हुन्छ ।

माथिको भनाइलाई सिकाइसँग जोड्ने हो भने अक्षरको राम्रो ज्ञानले शब्द बनाउने आधार दिन्छ । शब्दभण्डार राम्रो भए वाक्य निर्माणमा बल पुग्छ । राम्रो शाब्दिक ज्ञानले वाक्य संरचना हुँदै अनुच्छेद लेखन राम्रो हुन्छ । तर्क शक्ति र चिन्तन शक्ति अक्षरको राम्रो ज्ञानबाट प्राप्त हुन्छ । यस अर्थमा भाषाको विकासका लागि बलियो आधार भनेको अक्षरको सिकाइ राम्रो हुनु हो । विद्वानहरू भाषालाई त सिकाइको जननी पनि भन्ने गर्दछन् । त्यस्तै जोड, घटाउ, गुणन र भागको सिकाइका लागि अङ्क र सङ्ख्याको ज्ञान राम्रो हुनु जरुरी छ । जोड, घटाउ, गुणन र भागको आधारभूत क्रियाको सिकाइले सरलीकरणलाई सामान्य बनाइदिन्छ । सङ्ख्या, भिन्न, दशमलव, नाप, वीज गणितीय पदहरू, ज्यामितीय आधारभूत मान्यता, तथ्य र सिद्धान्तको अवधारणात्मक सिकाइले गणितका जटिल समस्या समाधानमा बलियो आधार प्रदान गर्दछ ।

यसरी मूत, अमूर्त अङ्क पदहरूको राम्रो ज्ञानले गणितसँग खेल्न सक्ने सीपको विकास गर्ने आधार दिन्छ । उदाहरण नै हेरौँ न, कक्षा १० कोमस र लस को सिकाइका लागि खण्डीकरणको ज्ञान हुनु आवश्यक छ । खण्डीकरणका लागि विज गणितीय पदहरूका आधारभूत क्रियाहरू (जोड, घटाउ, गुणन र भाग) को अवधारणात्मक ज्ञान हुनै पर्छ । फेरि अङ्क गणितलाई नमिसाई बिज गणित चल्दैन । अङ्क गणितको मस र लस को अवधारणा राम्रो भएको विद्यार्थीले मात्र कक्षा दशको विज गणितको मस र लस बुझ्न सक्छ । अङ्क गणितको मस र लस सिक्न फेरि सङ्ख्याहरूको खण्डीकरण आवश्यक पर्छ । खण्डीकरणका लागि गुणनको ज्ञान नभई हुन्न । गुणनका लागि जोडको अवधारणा हुनु पर्छ । आखिरमा उही अङ्क र सङ्ख्यासँग नै नखेली नहुने रहेछ त । अङ्क र सङ्ख्या सिक्ने भनेको त कक्षा १ देखि नै हो नि ? पाठ्यक्रमले त त्यही भन्छ । त्यस्तै गणितका शाब्दिक समस्याहरूको बुझाइमा समस्या नै छ । यसो हुनुमा भाषाको सिकाइ कारक छ । शाब्दिक समस्यालाई गणितीय भाषामा परिवर्तन गर्न त पहिला समस्या बुझ्नु पर्छ । वाक्य संरचना बुझ्नु पर्यो । शाब्दिक ज्ञान हुनु पर्छ । यसरी हेर्दा त अङ्क र अक्षरका क्रियाबाट हुने बलियो सिकाइले नै माथिल्लो सिकाइलाई प्रभाव पार्दो रहेछ । आखिर विद्यार्थीले आफ्नो अनुभव, व्यवहारजन्य अवस्था र भोगाइबाट सिकेका ज्ञान तथा सीपको अभिव्यक्त गर्दा समेत अङ्क र अक्षरको राम्रो ज्ञान हुनु जरुरी हुन्छ । हुँदैन र ?

विषय सन्दर्भः यस आलेखमा विद्यालयको सिकाइलाई जोड्न खोजिएको हो । दस कक्षा तथा माध्यमिक तह उत्तीर्ण मानिएका अधिकांश विद्यार्थीहरूले दुई अङ्कका सङ्ख्याको जोड, घटाउ, गुणन र भाग गर्दा क्यालकुलेटरको प्रयोग गर्नु, घरायसी सामान्य हरहिसाब गर्न नसक्नु, कसैलाई सम्बोधन गरी सामान्य निवेदन समेत लेख्न नसक्नु, नापको प्रयोग राम्रोसँग गर्न नजान्नु, सामान्य अंग्रेजीमा बोल्न नसक्नु आदि अहिले देखिएका वास्तविक व्यावहारिक समस्या हुन् । यी त भए तह पार गरेपछिका समस्या । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई कुनै विषयमा एक अनुच्छेद नेहरी लेख भन्यो भने नसक्ने अवस्था छ । लेखे पनि बेढङ्गसित लेखिदिन्छन् । गणितका आधारभूत तथ्य, धारणा र क्रियाहरूको ज्ञानमा कमी हुँदा गणित विषय शिक्षण गर्नै कठिन छ । वास्तवमा यो विद्यालय शिक्षाको डरलाग्दो रूप हो । यसका कारण के हुन् ? समस्या कहाँनेर छ ? समाधान कसरी सम्भव छ ? आदि इत्यादि प्रश्नको उत्तर यस आलेखमा खोजिएको छ ।

समस्याको चुरो ः हामी भुईँ नहेरी आकाशतिर हेर्दै हावामा दौडने कोसिस गर्यौं । हामी भन्नाले शिक्षकहरू, अभिभावकहरू, प्रअहरू, अनुगमनकर्ताहरू, नियामक निकायहरू, स्थानीय सरकारहरू, सम्बन्धित सबै–सबै । सम्बन्धित कक्षाका शिक्षकहरूले कक्षा गएपछि जेसुकै गर्छन् ।’ भनेर राम्रो सिकाइ सहजीकरणमा अल्छी गर्यौं । माथिल्ला कक्षामा अध्यापन गर्नेले तल्लो तहकाले केही सिकाएनन् भनेर उनीहरूलाई दोषी देखायौँ । यस्तै आरोप प्रत्यारोपका बीच जुन कक्षामा जुन सिकाइ उपलब्धि हासिल हुनुपर्ने हो त्यो नभई फटाफट विद्यार्थी कक्षा चढिरहे । अभिभावकहरूले एकैचोटि कक्षा ९/१० मा ट्युसन, कोचिङ् पढाइदिने सबै सिकाइ एकैचोटि हुन्छ भन्ने मानसिकता बोक्यौँ । प्रअहरूले तल्ला कक्षाको सिकाइ कसरी बलियो बनाउन सकिन्छ भनेर चिन्तन गरेनौँ । कुनै योजना बनाएनौँ । बरू दश कक्षामा ट्युसन, कोचिङ पढाएर र विद्यार्थीलाई होस्टेल राखेर रटाउने र एसइइमा मात्र कसरी राम्रो जिपिए आउँछ भनेर साम–दाम गर्ने बुद्धि निकाल्यौँ । तर पनि सकेनौँ । सायद गुणस्तर भनेको त्यही होला, अङ्क त मेसो परे मात्र ल्याउने हो ।

खास त गुदी नै हुनुपर्छ होला । अनुगमनकर्ताहरूले विद्यालयको भौतिक पाटो र विद्यार्थी सङ्ख्या मात्र खोतल्यौँ । एसइइमा कुन विद्यालयले कुन विषयमा कति औसत जिपिए प्राप्त गरे भनेर तथ्याङ्कमुखी मात्र बन्यौँ । सोही आधारमा शिक्षक र विद्यालयको वर्गीकरण गर्न थाल्यौँ । प्रारम्भिक तहमा सिकाइ कसरी हुनुपर्ने थियो र कसरी भएको छ तुलनात्मक अध्ययन गर्ने चेष्टा गरेनौँ । नियामक निकायले नियममा मात्र विद्यालय शिक्षाको कसरी जाँच्न खोज्यौँ । स्थानीय सरकार, जसले विद्यालय शिक्षाको जिम्मेवारी पाएको छ, झन् गैरजिम्मेवार देखियो । सबै शिक्षकले गर्ने त हो भनेर पन्छिने काम गर्यो । शिक्षकलाई गाली मात्र गर्न तम्सियो । आठ कक्षाको उपलब्धि परीक्षालाई व्यवस्थित गर्नसकेन । न आफुले गर्यो न विद्यालयलाई जसको जति सिकाइ भएको छ त्यति मात्र उपलब्धि देखाउन नियमन गर्यो । फलस्वरूप ३ अङ्क आउनेलाई पछाडि ५ थपेर विद्यालयले पठाएको नतिजालाई आँखा चिम्लेर सहीछाप ठोकिदियो र वैधानिक बनाइदियो । अनि त एसइइ र कक्षा १२ को परीक्षाको नतिजा आउँदा विद्यालयहरूको हविगत देखियो ।
कक्षा एकदेखि सातसम्म कसरी सिकाइ भइरहेको छ भनेर स्थानीय सरकारले पनि सुक्ष्म अध्ययन गरेन । अर्थात् थाहा पाएर पनि नपाएजस्तो गर्यो ? तल्ला कक्षाको सिकाइलाई बलियो बनाउन कुनै योजना ल्याएन । शिक्षक व्यवस्थापनमा ध्यान दिएन । आधारभूत तहमा अध्यापनरत शिक्षकहरूको पेसागत विकासमा वास्ता गरेन । ठूला–ठूला भौतिक पूर्वाधारमा मात्र ध्यान दियो । शिक्षा मन्त्रालय र मानवस्रोत विकास केन्द्रले के भन्छन्, के दिन्छन् भनेर माथि मात्रै हेरिरह्यो । आधारभूत शिक्षाको सुधारमा परिवर्तनको सङ्केत देखाएन । अनि एसइइको नतिजा आउँदा दश कक्षा अध्यापन गर्ने शिक्षकहरूलाई मात्र दोषी देखिरह्यो । यसरी हेर्दा विद्यालय तहको आधारभूत सिकाइ सधैँभरि उपेक्षामा रह्यो र त्यसको दीर्घकालीन असर माथिल्ला कक्षाहरूमा पर्न गयो ।

उपाय के त ?
चाहे त आफ्नो भागको काम शिक्षकले गर्न सक्छन् । आफ्नो भागको काम गरिदिए पनि सिकाइमा धेरै सुधार हुन्छ । नजाने सिक्ने अनि सिकाउने । सूचना छन् । प्रविधि छ । जानकारहरू छन् । विद्यालयमै छन् । गाउँ समाजमै छन् । वरिपरि नै छन् । किन सकिन्न ? जान्नेलाई सोधे सानो भइएला र ? सिकाइ त जीवनपर्यन्त हुन्छ नि । अल्छीपनले गाँज्यो ? इच्छाशक्ति त हुनैपर्छ नि । शिक्षकको इच्छाशक्ति मार्ने तत्वहरूको कमी त छैन । तैपनि गर्नुपर्यो । माथिकाले जे गरे नि गर्छन् भन्नुभएन त्यत्ति हो । प्रअले चाहे अझ धेरै गर्न सक्छन् । कसरी ? आधारभूत कक्षाको सिकाइ क्रियाकलापमाथि प्रत्यक्ष निगरानी गरेर । आधारभूत सिकाइमा टेवा पुग्ने शैक्षणिक योजना बनाएर । शिक्षकहरूलाई प्रोत्साहन गरेर । कुशल प्रशासकीय भूमिका निभाएर । शिक्षक–शिक्षकबीच समन्वय अनि आपसी सद्भावको वातावरण बनाइदिएर । विद्यालय व्यवस्थापन समितिले गर्न सक्छ— प्रधानाध्यापकको योजना र राम्रो कामलाई साथ दिएर । अल्छी प्रधानाध्यापकलाई नियन्त्रण गरेर । कुशल व्यवस्थापकीय भूमिका निभाएर । अभिभावकहरूले पनि गर्न सक्छन्— आफ्ना छोराछोरीले कति अङ्क वा जिपिए ल्याए भनेर होइन कि कति सिके भन्नेतिर ध्यान दिएर । विद्यालयका विषय शिक्षकसँग समन्वय गरेर । उनीहरूलाई झक्झक्याएर । आफ्ना नानी–बाबुलाई अनुशासन र संस्कारको पाठ सिकाएर ।

अनुमगनकर्ताले गर्न सक्छन्– नियमित कक्षाकोठाको अनुमगन र सिकाइका तौरतरिकाबारे कार्यशाला तथा गोष्ठी गरेर । शिक्षक र प्रधानाध्यापकलाई पृष्ठपोषण गरेर । शिक्षकको साथी बनेर । नियमनकर्ताले गर्न सक्छन्– किन पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि हासिल नगरी माथिल्लो कक्षा चढाइयो भनी प्रश्न गरेर । त्यस खालको प्रथालाई व्यवहारमै हटाउन पहल गरेर । माथिका यी काम कसैले गरेनन् भने कसले गर्ने त ? कसरी गर्ने ? तर विश्वास गर्ने ठाउँ छ, आधार छ । विश्वास गर्ने भनेको स्थानीय सरकारलाई नै हो । किनकि स्थानीय सरकार भनेको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारप्राप्त निकाय हो । स्थानीय तहको माध्यमिक शिक्षाको व्यवस्थापकीय अधिकारको केन्द्र हो । आफ्नो अधिकार प्रयोग गरेर स्थानीय तहले नै माथिका सबै कुराको व्यवस्थापन गरी अरू पनि धेरै काम गर्न सक्छन् । जस्तै ः–

(क) विषय प्रवेशमै भनियो, विद्यालयको भाषा र सिकाइ कमजोर रह्यो । भाषा र गणितको कमजोर सिकाइका कारण तहगत गुणस्तर देखिएन । यसको कारण अरू छैन । या त प्राथमिक तहमा भाषा र गणितकै शिक्षकमै कमजोरी रह्यो, या शिक्षक व्यवस्थापनमा । त्यसैले स्थानीय सरकारले शैक्षिक सत्र शुरु हुनुभन्दा पहिले कम्तीमा एक महिना भाषा र गणितका शिक्षकहरूलाई सामग्री निर्माण र शिक्षण–सिकाइका तौरतरिका, विद्यार्थी मूल्याङ्कन, सूचना प्रविधि आदि सम्बन्धमा पुनर्ताजगी तालिमको योजना बनाउन सक्छ ।
(ख) स्थानीय तहमा भाषा र गणितमा दख्खल भएका जगेडा शिक्षकहरूको व्यवस्था गरी शिक्षक अभाव भएका विद्यालयहरूमा आवधिकपूर्ति गर्न स्थानीय सरकारले सक्छ ।
(ग) बालविकास कक्षालाई स्मार्ट टिभी लगायत सिकाइ र खेलकुदका सामग्रीहरूले सुसज्जित गरिदिन सक्छ ।
(घ) बालविकास सहजकर्ताहरूको पेसागत विकास र उचित प्रोत्साहनका लागि बजेट व्यवस्थापन गरिदिन सक्छ ।
(ङ) साना कक्षाहरूलाई बालमैत्री बनाउन आवश्यक सामग्री व्यवस्थापन गरिदिन सक्छ ।
(च) विद्यालयहरूमा प्राज्ञिक व्यक्तिलाई प्रअको जिम्मेवारी दिने योजना बनाउन सक्छ । त्यस्ता प्रअलाई साना कक्षाको सिकाइ बलियो बनाउने योजना निर्माण गर्न लगाउन सक्छ । प्रअले बनाएका त्यस्ता योजनालाई कार्यान्वयनमा सहयोग गर्न आर्थिक व्यवस्था गरिदिन सक्छ ।
(छ) विद्यालयको नियमित सुपरीवेक्षण गरी कर्तव्यनिष्ट र इमान्दार शिक्षकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम बनाउन सक्छ । खराब शिक्षकहरूलाई नसिहत दिन सक्छ ।
(ज) स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरू निर्माण गरी आफ्नो तहमा लागू गर्न सक्छ ।
(झ) आफ्नो स्थानीय तहको सुक्ष्म शैक्षिक योजना निर्माण गरेर आधारभूत सिकाइको क्षेत्रमा अन्य थुप्रै कामहरू स्थानीय सरकारले गर्नसक्छ ।

निष्कर्षः समस्या जहाँतहीँ हुन्छन् नै । समस्यासँगै समाधानका उपाय पनि सँगसँगै आएका हुन्छन् । बस् ! खोज्नु पर्यो । चिन्तन–मनन् गर्नु पर्यो । अन्तरदृष्टिपूर्ण सिकाइको चिन्तन । भिजन र मिसन भएपछि समस्याको समाधान नहुने भन्ने हुँदैन । भिजन बनाउनु पर्यो । मिसनमा लागिराख्न पर्यो । फलामलाई तताई राख्नुपर्यो अनि पिटिराख्नु पर्यो । तब पो चाहेको आकार बन्छ । आ–आफ्नो ठाउँमा सबै जिम्मेवार बन्नु पर्यो । चेतना नै सबै विकासको जरा हो । चेतना विद्यालयमा परिष्कृत हुन्छ । सिकाइले चेतना जगाउँछ । विद्यालयको सिकाइ नै दिगो सिकाइको जग हो । तसर्थ विद्यालयको सिकाइको सुधार र गुणस्तर अभिवृद्धिका लागि विद्यालयहरूलाई तयारी बनाउनु पर्यो, विद्यालयहरू तयार हुनु पर्यो । शिक्षकहरूलाई तिखार्नु पर्यो । शिक्षकहरू तिखारिनु पर्यो । विद्यालयको सिकाइलाई कसैलेउपेक्षा गर्नु भएन । यसो गर्नु भनेको मोही माग्नु ढुङ्ग्रो लुकाउनु भनेजस्तै हो । हैन भने, नाकैमुनिको फोहोर नदेखेपछि, देख्न नचाहेपछि, देखेर पनि सफा गर्ने बुद्धि नपलाएपछि दुर्गन्ध सुँघेर र रोगी भएर बस्न त सबै तयार हुनै पर्यो ।

(लेखक मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जालपादेवी माविका प्रधानाध्यापक हुनुहुन्छ ।)