हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुर जिल्ला लिग छनोट प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–१९ को जनहित युवा क्लब विजयी भएको छ ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा जनहित युवा क्लबले हेटौंडा–१३ को पदमपोखरी युवा क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइबे्रकरमा पुगेको थियो । म्यान अफ म्याच जनहित युवा क्लबका आयुष गोले घोषित भएका छन् ।
शनिबारै भएको अर्को खेलमा हेटौंडा–१२ को पञ्चशील युवा क्लब विजयी भएको । पञ्चशील युवा क्लबले हेटौंडा–१८ को कमलादेवी युवा क्लबलाई टाइबे्रकरमा ३–० गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइबे्रकरमा पुगेको थियो । बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्य तथा जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको सभाध्यक्षतामा प्रतियोगिताको उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरिबहादुर महत, वडाअध्यक्ष सुशील घिमिरे, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, नारायणी कलेजको प्रिन्सिपल रघुनाथ खराललगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम र द्वितीय हुने दुई टिम जिल्लास्तरीय टिमको रुपमा छनोट भई जिल्ला लिगमा सहभागी हुनेछन् । आगामी लिगमा दुई वटा टिम घटुवामा पर्ने बताइएको छ ।