मुलुकका सात प्रदेशमध्ये बागमती प्रदेश व्यापक पर्यटकीय सम्भावना भएको प्रदेश हो । बागमती प्रदेशमा थुप्रै पर्यटकीय पूर्वाधारहरु छन् । प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले अग्रसरता पनि देखाइरहेको छ । प्रदेश संरचना कार्यान्वयनमा आएपछिका केही वर्षहरुमा बागमती प्रदेश सरकारले पर्यटन विकासका लागि थुप्रै महत्वपूर्ण कार्यक्रम कार्यान्वयनको प्रयास पनि गरेको थियो । प्रदेशका सबैजसो जिल्लामा विभिन्न प्रकारका पर्यटकीय पूर्वाधार निर्माणका लागि विनियोजित बजेट खर्च गर्न नसक्दा ती योजना कागजमै सीमित बनेका थिए । प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि वर्षेनी झण्डै ३ अर्ब बजेट विनियोजन गर्दै आएको भए पनि बजेट कार्यान्वयन सन्तोषजनक देखिएको छैन । पर्यटकीय पदमार्ग, हिल स्टेशन, ऐतिहासिक गढी संरक्षण, पार्क तथा तालहरुको विकास, राष्ट्रिय व्यक्तित्वको जन्मस्थान पहिचान तथा प्रवद्र्धन, व्यापार मेला प्रवद्र्धनजस्ता कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ ।

बुधबारमात्र पनि बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । बैठकले पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृतसमेत गरेको छ । यसअघि पनि बागमती प्रदेश सरकारले पर्यटन वर्ष तथा पर्यटन दशक मनाउने घोषणा गरेको भए पनि कार्यान्वयन हुन सकेको थिएन । करिब ४ वर्षअघि संघीय सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेपछि बागमती प्रदेश सरकारले पनि प्रदेश पर्यटन दशक २०२०–२०३० घोषणा गरेको थियो । नेपाल भ्रमण वर्ष र प्रदेश पर्यटन दशक घोषणालगत्तै विश्वव्यापी कोभिड–१९ महामारी सुरु भएको थियो । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समय देशव्यापी लकडाउन गरियो । कोभिड–१९ को महामारीको समयमा विश्वकै पर्यटन व्यवसाय धराशायी बन्यो । पर्यटकको आवागमन ठप्पजस्तै बनेपछि संघीय सरकारले नेपाल भ्रमण वर्षको घोषित कार्यक्रम फिर्ता लिएको थियो । कोभिड–१९ महामारीको जोखिम लम्बिँदै गएपछि प्रदेश पर्यटन दशकको घोषणा पनि अलपत्र परेको थियो ।

बागमती प्रदेशमा सबैभन्दा बढी पर्यटकीय सम्भावना रहेको छ । हवाई मार्गबाट आउने अधिकांश विदेशी पर्यटक संघीय राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका कारण पर्यटकका लागि बागमती प्रदेश विशेष बन्ने गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० मध्ये ८ सम्पदा यसै प्रदेशमा छ । सबैभन्दा बढी पर्यटक आउने मुख्य गन्तव्य काठमाडौं उपत्यकाका साथै देशकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा पनि यसै प्रदेशमा पर्दछ । बागमती प्रदेशमा लाङटाङ तथा जुगल हिमाल, सिन्धुपाल्चोक र रामेछापको सिमानामा रहेको सैलुङ पर्यटकीय सम्भावनायुक्त क्षेत्र हो । दोलखाको जिरी र कालिञ्चोक, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाईंकुण्ड पनि पर्यटकीय क्षेत्र हुन् । संघीय राजधानीका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पर्यटकीय क्षेत्रहरु प्रशस्तै छन् । बनेपा, पनौती, धुलिखेलसहित काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने क्षेत्र र पर्यटकीय पूर्वाधार रहेका छन् । चितवनको देवघाट, मकवानपुरको इन्द्रसरोवर–चित्लाङ–दामन–पालुङ क्षेत्र र हेटौंडाको शहीद स्मारकलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना छ । मकवानपुर, चिसापानी, सिन्धुली, उपरदाङ गढीजस्ता प्राचीन ऐतिहासिक महत्वको गढीहरुको संरक्षण एवम् प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्न सकेमा बागमती प्रदेश भ्रमण वर्ष सार्थक बन्ने सम्भावना देखिन्छ ।

पर्यटकीय सम्भावना भएर पनि आवश्यक पूर्वाधार र प्रचारप्रसारको कमीले पर्यटक आकर्षित हुन नसकिरहेको अवस्थामा प्रदेश सरकारले भ्रमण वर्ष घोषणाको निर्णय गर्नुलाई सकारात्मक मान्नुपर्छ । प्रदेश सरकारले स्वदेशी तथा विदेशी पर्यटकलाई बागमती प्रदेश प्राकृतिक, सामाजिक, साँस्कृतिक, धार्मिक सबै दृष्टिबाट उपयुक्त गन्तव्य रहेको विश्वास दिलाउनुपर्छ । देश–विदेशमा बागमती प्रदेश र समग्र देशकै पर्यटकीय सम्भावना र पर्यटकीय पूर्वाधारहरुको उचित प्रचारप्रसारसहित पर्यटकलाई सहज सेवा सुविधा उपलब्ध गराएमा भ्रमण वर्ष सफल बनाउन सकिन्छ । भ्रमण वर्ष सफल भएमा पर्यटनमार्फत् प्रदेशको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । बागमती प्रदेश सरकारले पर्यटन विकासका लागि उपयुक्त नीति निर्माण गर्दै पर्यटकीय गन्तव्य पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएर घोषणा गर्न लागेको प्रदेश भ्रमण वर्ष २०२४ सफल बनाउनु उचित हुनेछ ।