आरजु सत्याल
हेटौंडाः निस्फिक्री हुँदै खेल्दै रमाउनुपर्ने किशोरावस्थामै चिन्ता र तनाव बढ्दै गएको छ । मकवानपुरका किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । मानसिक चिन्ताका कारण धेरै किशोर किशोरीहरुले ज्यान समेत गुमाएका छन् । हेटौंडा अस्पतालको मनोचिकित्सक विभागमा धेरै किशोरकिशोरीहरु मानसिक चिन्ता र तनाव लिएर आउने गरेको मनोचिकित्सक विशेषज्ञ डा. उद्धव लामाले जानकारी दिनुभयो ।
मनोचिकित्सक विभागमा दैनिक ३० देखि ३५ जना बिरामी आउने गरेका छन् । मनोचिकित्सक विभागमा आउने बिरामीमा धेरै किशोरकिशोरीहरु रहेका छन् । बिरामीहरु मध्ये धेरैमा मानसिक चिन्ता र केही किशोरकिशोरीमा त कडा मानसिक समस्या देखिने डा. लामा बताउनुहुन्छ । डा. लामाका अनुसार मानसिक चिन्ताका तीन चरण हुने गर्दछ भने मानसिक चिन्तालाई ठिक पार्ने पनि ३ तरिका हुन्छन् । मानसिक चिन्ता ठिक पार्ने पहिलो चरण औषधी, दोस्रो परामर्श र तेस्रो जीवनशैलीमा परिमार्जन रहेको डा. लामाले बताउनुभयो ।
मानसिक तनाव र चिन्ता पुरुषलाई भन्दा धेरै महिलालाई हुने गरेको उहाँ बताउनुहुन्छ । यी मानसिक चिन्ता, तनाव र चिन्ता किशोरकिशोरीलाई मात्र नभई धेरै मानिसलाई हुने गर्दछ । डिपे्रसन कुनै निश्चित उमेरमा मात्रै सीमित नभएको डा. लामाले स्पष्ट पार्नुभयो । मानसिक समस्या हरेक उमेरका मानिसलाई जति बेला पनि हुन सक्ने उहाँको भनाइ छ । किशोरकिशोरीपछि मानसिक चिन्ता ६० भन्दा बढी उमेरका मानिसमा पाइएको छ । मानसिक चिन्ताका साथसाथै बुढ्यौली उमेरमा स्मरण सम्बन्धी समस्या देखिने डा. उद्धव लामाले बताउनुभयो ।
हेटौंडा अस्पतालले पहिला सामान्य मानसिक बिरामीलाई घरमा पठाउने गरेको थियो भने वार्डमा राखेर हेर्नु पर्ने बिरामीलाई अस्पतालले चितवन रिफर गर्ने गरेको थियो । तर अहिलेको समयमा हेटौंडा अस्पतालले मनोचिकित्सा वार्डको उद्घाटन गरेको छ । हेटौंडा अस्पतालले मनोचिकित्सा वार्डको उद्घाटन गरे पनि वार्ड भने सञ्चालनमा आएको छैन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले असोज २२ गते पत्रकार सम्मेलनमा मनोचिकित्सक डा. सुरेन्द्र शेरचनले एक महिनापछि मानसिक स्वास्थ्य सम्बन्धी वार्ड सेवा सञ्चालनमा आउने बताउनु भएको थियो ।
डा. लामाका अनुसार घरमा राख्ने स्थिति नभएका बिरामी, जसलाई अरुबाट खतरा र अरुलाई बिरामीबाट खतरा हुने, धेरै गाह्रो भएको बिरामी वा आत्महत्याको लक्षण देखिएको जस्ता बिरामीलाई वार्डमा राख्न आवश्यक रहेको बताउनुभयो । हेटौंडा अस्पतालमा डा. उद्धव लामाले मात्र मनोचिकित्सक वार्डमा बिरामी हेरिरहनु भएको छ । एकजना मात्रै डाक्टर भएको कारणले पनि अस्पतालले मनोचिकित्सा वार्ड चलाउन नसकेको डा. लामा बताउनुहुन्छ ।