हेटौंडाः चिकित्सा विज्ञानतर्फ स्नातक तह अर्थात एमबिबिएस अध्ययन गर्न मकवानपुरको राक्सिराङ गाउँपालिकाले विद्यार्थीलाई अनुदान सहयोग प्रदान गर्ने भएको छ । सोमबार राक्सिराङ गाउँपालिकाले सूचना जारी गर्दै एमबिबिएस अध्ययन सहयोग अनुदान लिन चाहने विद्यार्थीलाई आवेदन पेस गर्न आह्वान गरेको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रममा एमबिबिएस अध्ययन सहयोग अनुदान कार्यक्रम स्वीकृत गरिएको छ । राक्सिराङ गाउँपालिकाकाले स्थायी बसोबास गरी हाल मान्यता प्राप्त शिक्षण संस्थामा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यले अनुदान कार्यक्रम स्वीकृत गरेको पालिकाले जनाएको हो । आवेदनमा उल्लेखित मिति २०८० मङ्सिर ४ गतेबाट १५ कार्यदिन भित्र आवेदन पेस गर्नुपर्ने छ ।
गाउँपालिकामा स्थायी बसोबास गरी देशका विभिन्न मान्यता प्राप्त शिक्षण संस्थाहरुमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरुले १५ दिन भित्र आवेदन पेस गर्नुपर्ने गाउँपालिकाले बताएको छ । राक्सिराङ गाउँपालिकाका अनृुसार अहिले गाउँपालिकामा एकजनाले मात्र एमबिबिएस अध्ययन गरेर स्वास्थ्य चौकीमा जाँच गरिरहनु भएको छ । आवेदनमा उल्लेखित आवश्यक कागजातहरुमा पहिलोे तोकिएको ढाँचा अनुसारको आवेदन पत्र रहेको छ ।
यस्तै, आवश्यक शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस पत्र, अन्य कुनै ठाउँबाट कुनै किसिमको छात्रवृत्ति तथा करारमा अध्ययनरत हो वा होईन स्पष्ट खुल्ने गरी सम्बन्धित अध्ययनरत शिक्षण संस्थाको सिफारिस पत्र र विवाहित विद्यार्थीको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपिको आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।