नेपाली भाषा र साहित्यको क्षेत्रमा मोतीराम भट्टको योगदान अतुलनीय मानिन्छ । आदिकवि भानुभक्त आचार्यपछि नेपाली साहित्य आकाशमा उदाएका एउटा सशक्त व्यक्तित्व हुन्, मोतीराम । नेपाली साहित्य वा नेपाली भाषामा एउटा नयाँ र नौलो आयाम दिई नेपाली साहित्य आकाश र नेपाली भाषामा अतुलनीय योगदान दिने यी महान हस्तीको आज जन्मजयन्ती हो । मोतीरामको जन्म १९२३ साल भदौ २५ गते (कुशेऔंशीका दिन) काठमाडौंको भोसिको टोलमा भएको थियो । पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रुपमा जन्मिएका मोतीरामले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए । ६ वर्षको उमेरमै आफ्ना मातापितासँग भारतको वनारस (काशी) पुगेका मोतीरामको औपचारिक शिक्षा आर्जनको सुरुवात त्यहीँ भएको थियो ।

नेपाली साहित्यको गजल विधामा विशेष दख्खल राख्ने मोतीरामलाई गजलका पिता भनेर पनि चिनिन्छ । सानैदेखि साहित्यमा निकै रुचि देखाएका मोतीरामको नेपाली, संस्कृत तथा उर्दू भाषा साहित्यका विधामा राम्रो अध्ययन थियो । उनी होनाहार, ओजस्वी र तपस्वी व्यक्तित्व थिए । उनी स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु, स्वदेशी बोल्नु पर्दछ भन्ने मान्यता राख्दथे । करिब ८ वर्ष बनारस बसाइका क्रममा मोतीरामले हिन्दी भाषामा विभिन्न गजल गाइसकेका थिए र चार सयजति शायरीहरु लेखिसकेका थिए । त्यसबेलासम्म यिनले नेपाली गीत, कविता र गजल कोरेकै थिएनन् । वि.सं १९३७ सालमा बनारसबाट नेपाल आएपछि १५ वर्षकै उमेरमा उनको विवाह भएको थियो । उनी दरबार हाइस्कूलमा भर्ना भई विद्यालय शिक्षा पूरा गरेपछि उच्च शिक्षाका लागि भारतको कलकत्ता पुगे ।

मोतीरामले वि.सं . १९४८ मा आदिकवि भानु भक्त आचार्यको जीवनचरित्रलाई नेपाली साहित्यमा परिचित गराउने काम गरेर प्रसिद्धि कमाएका थिए । नेपाली साहित्यलाई छोटो समयमै उन्नतिको शिखरमा पुर्याउन मोतीराम भट्टले भानुभक्त आचार्यजस्ता प्रतिभाको यथेष्ट कदर गरेका थिए । जनजीवनमा साहित्यिक र भाषिक भावनाबाट जागरण ल्याउनका लागि मोतीरामले भानुभक्तका विषयमा लेखेका प्रायः सबै ब्यहोरालाई नै नेपाली साहित्यको इतिहासले आधिकारिकरुपमा ग्रहण गरेको छ । बिहेमा जन्ती गएका बखत उनले रातभरि श्लोकमा जुहारी खेलेको सुनेपछि नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदारहेछन् भन्ने कुराले उनलाई नेपाली भाषा साहित्यप्रति आकर्षित गरायो । ती सबै जुहारी श्लोकहरु भानुभक्त आचार्यले लेखेका हुन् भन्ने थाहा पाएपछि उनी एक्कासी भानुभक्त आचार्यका गुणगानमा लाग्न थाले । त्यसपछि उनी भानुभक्त आचार्यका कृतिहरु खोजीखोजी प्रकाशन गर्ने काममा जुट्न लागे । मोतीराम भट्ट भानुभक्तका परिचयकर्तामात्र नभई स्वयम् कवि, गजलकार, गीतकार, नाटककार पनि थिए । उनले भारतजीवन भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण प्रकाशन गर्दै नेपाली भाषाका पुस्तकहरु पनि छापे ।

नेपाली भाषा साहित्यमा अतुलनीय योगदान दिन सफल भएकै कारण उनी हाम्रो राष्ट्रिय विभूति बनेका छन् । ३० वर्षमात्र बाँचेर १९५३ सालको कुशेऔंशीकै दिन देह त्यागेका मोतीराम भट्ट नेपाली साहित्यमा ठूलो योगदान पुर्याउन सफल मानिन्छन् । करिब १५ वर्षजति साहित्यिक क्षेत्रमा सक्रिय बन्न पाएका मोतीराम भट्टले २५ वटा कृति सिर्जना गरेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पण गरे । मोतीराम भट्ट कवि, गजलकार र गीतकार त हुँदै हुन्, उनी प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, संगठनकर्ता, पुस्तकालय स्थापकका रुपमा पनि परिचित छन् । उनी मीठो स्वर भएका गायक, नाटककार तथा नाटक निर्देशक पनि थिए । उनले सितारवादन पनि जानेका थिए । आफ्नो जीवनको अथक मिहिनेत, बौद्विक कसरत र हिम्मतका कारणले उनी नेपाली साहित्य क्षेत्रमा चिरस्मरणीय छन् । श्रृंगाररसयुक्त गजल, कवितामा रुचि राख्ने स्रष्टाले सधैं सम्झने गरेका मोतीरामलाई सबै साहित्यनुरागीहरुले पनि सधैं स्मरण गर्दै उनको योगदानको चर्चा र सम्मान गर्नु आवश्यक छ ।