सञ्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने समुह । फाइल तस्बीर

हेटौँडाः विरामीको उपचार गरिरहेका डाक्टरमाथि सांघातिक आक्रमण गर्ने समूह र पीडित डाक्टरबीच मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले आफ्नै कार्यकक्षमा वार्ता गराएका छन् । डाक्टरमाथि सांघातिक आक्रमण गर्ने समूहलाई कारवाही गर्नुविपरित आफ्नै कार्यकक्षमा वार्ता गराउने क्रममा डाक्टरमाथि आक्रमण गर्ने समूहले प्रहरी प्रमुखकै अगाडि डाक्टरलाई काट्छु समेत भने पनि प्रहरी प्रमुखले आक्रमणकारीलाई कारवाही गरेनन् ।

बुधबार विहान १० बजेको समयमा हेटौँडा–१ स्थित सञ्चो हस्पिटलमा विरामीको उपचार गराउँदै गरेका डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण भएको थियो । प्रहरी प्रमुखकै अगाडि काट्छु, मार्छु भनेपछि आक्रमणमा परेका डाक्टरहरुले आक्रमणकारीविरुद्ध जाहेरी नै दर्ता गराएनन् । प्रहरी प्रमुखकै कोठामा अस्वभाविक वार्ता र धम्की सुनेपछि हेटौंडामा कार्यरत अधिकांश डाक्टरले राजिनामा दिएर जिल्ला छाड्ने तयारी गरेका छन् । सांघातिक आक्रमणमा परेका डाक्टरले भने, “प्रहरी प्रमुखकै अगाडि काट्छु, मार्छु भन्दा कसरी जाहेरी दर्ता गर्ने ? यस्तो जोखिमपूर्ण अवस्था देखेर हेटौँडा अस्पतालमा कार्यरत अधिकांश डाक्टरले जिल्ला छाड्ने भन्दै राजिनामा दिँदैछन् । उनीहरु बिहिबार नै राजिनामा दिएर हिँड्ने तयारीमा छन् ।”

घटनाका विषयमा बुझ्न खोज्दा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको फोन उठेन । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले पनि प्रहरी कार्यालयमै वार्ता भएर डर, त्रासका कारण डाक्टरले जाहेरी नै दर्ता गराएनन् भन्ने जानकारी गराउँदा प्रहरी प्रमुखसँग बुझेर जानकारी गराउँछु भन्नुभयो । तर, प्रहरीसँग बुझे, नबुझेको विषयमा बुझ्न फोन गर्दा प्रमुख जिल्ला अधिकारी सेढाईको पनि फोन उठेन ।

सांघातिक आक्रमण भएको विषयमा प्रहरी, प्रशासनको मौनताले हेटौँडामा त्रासको वातावरण बनेको छ । सञ्चो हस्पिटलका सञ्चालकले पनि दोषीमाथि कारवाहीका लागि मुद्दा दर्ता गराउन भन्दा सहमति डाक्टरहरुलाई भनेको बताइएको छ । पीडित डाक्टरले भने, “अस्पतालका सञ्चालकले नै कारवाहीका लागि मुद्दा दर्ता गराउन भन्दा मुद्दा दर्ता नगराउन प्रेरित गरेपछि हामी चुप बस्न बाध्य भयौं ।” घटनाबारे बुझ्न सञ्चो हस्पिटलका अध्यक्ष विजय पुडासैनीलाई फोन गर्दा उनले पनि फोन उठाएनन् ।