संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । कला र संस्कृति नै समाज निर्माणका पूर्वाधार हुन् । जुन समाजमा विविध जातजाति, वर्ग र समुदायले आ–आफ्नो मौलिक संस्कृतिको जगेर्ना गरेका छन् त्यो समाज नै सभ्य समाजकोरुपमा चिनिएको पाइन्छ । पुस्तौंदेखि चलिआएको चालचलन र परम्परालाई हामी संस्कृतिकोरूपमा ग्रहण गर्दछौं । संस्कार र संस्कृति आज बनाएर बन्ने पक्कै होइन । भौगोलिकरुपमा सानो भएपनि हाम्रो देश नेपालमा भएका विभिन्न जातजाति र भाषाभाषीले मनाउने विविध चाडपर्व तथा रीतिरिवाजले हामी विश्वमै परिचित छौं ।

महिनैपिच्छे कुनै न कुनै महत्वपूर्ण चाडपर्व मनाइरहने हाम्रो समाजमा चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्नमा महिलाहरूको महत्वपूर्ण योगदान रहेको छ । आजको व्यस्त समयमा पनि हरेक चाडपर्वलाई उत्तिकै उल्लासपूर्वक मनाउनमा महिलाहरूको सक्रियता बढ्दै गएको पाइन्छ । चाहे गृहिणी हुन् या दोहोरो कार्यभारमा रहेकी नारी, समयलाई आ–आफ्नै तरिकाले व्यवस्थापन गर्दै घरपरिवार र समाजले दिएको यो महत्वपूर्ण जिम्मेवारीलाई इमान्दारितापूर्वक निभाउनमा आजका महिला पनि उत्तिकै सक्षम देखिन्छन् । यसरी समाजको महत्वपूर्ण जिम्मेवारी पाएर समाजलाई नै रुपान्तरण गर्नसक्ने क्षमता राख्ने भएर नै होला पुरुषको तुलनामा महिलाले गर्ने हरेक क्रियाकलापमा समाजले अलि बढी नै चासो र चिन्ताकोरुपमा लिने गरेको छ ।

नेपालमा हिउँदयाम लाग्दै गर्दा सुरु हुने चाडपर्वहरू यो वर्ष मलमासको कारण अलि पछाडि धकेलिएको भएपनि बिस्तारै सुरु भइसकेको छ । नागपञ्चमी र कृष्णअष्टमी सकिएलगत्तै सुरु हुने हिन्दु नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजले सबैजसो महिलाहरुलाई कुनै न कुनैरूपमा छोइसकेको छ भने हामीमध्ये कतिले त तीजको अघिल्लो दिन राती खाने दर पनि दर्जनौं पटक खाइसकेका पनि छौं । हुन त यो व्यक्तिको स्वतन्त्रताको कुरा हो । आफ्ना साथीहरु मिलेर नाचगान गर्दै रमाइलो गर्नु नराम्रो पक्कै होइन । तर समाजको एउटा जिम्मेवार व्यक्तिहरुले गरेका हरेक क्रियाकलापले समाजलाई नै रुपान्तरण गर्ने शक्ति राख्दछ । आज हामीले गरेका क्रियाकलाप भोलि संस्कारकोरुपमा विकसित हुँदै संस्कृति बन्दछ । हामीले हाम्रा बालबालिकालाई सिकाएका किताबी ज्ञानभन्दा पनि हामीले गरेका हरेक क्रियाकलापहरु उनीहरूको सिकाइको पहिलो माध्यम हुने गर्दछ ।

आर्थिकरुपमा सक्षम केही व्यक्तिहरु मात्र मिलेर महिनौं अगाडिदेखि मनाएको यो पर्व कतै भोलिको संस्कार त बन्ने होइन ? कतै हाम्रा आगामी पुस्ताले हाम्रा पर्वलाई यतिमै सीमित बनाउने त होइनन् ? यो सोचनीय विषय बनिसकेको छ । जसरी आज पश्चिमी संस्कृतिले हाम्रो जन्म उत्सव मनाउने तरिकालाई पूर्णरुपमा विस्थापित गरिसकेको छ, त्यसैगरी यो महान पर्व पनि परिमार्जन हुने त होइन ?

अविवाहित नारीले महादेव जस्तै श्रीमान् पाऊँ भनेर र विवाहित नारीले आफ्नो श्रीमान्को आयु लामो होस् भनी निराहार व्रत बस्नुपर्ने भएर नै होला विवाह भएर टाढा पुगेकी चेलीलाई पनि माइतीले सम्झेर लिन जाने र पर्वकै बहानामा भएपनि चेलीले केहीदिन माइतीमा आएर आफ्ना बाबुआमा र दाजुभाइदेखि साथीहरु समेतलाई भेटेर आफ्नो दुःख–सुखलाई पोख्ने अवसर पाउँछन् । आफुले भोगेका दुःखहरुलाई गीतकै माध्यमबाट गाएर आफ्नो मन हलुका बनाउने पर्वकारूपमा परिचित महान चाड तीज हरेक नेपाली महिलाको निम्ति एउटा उल्लासमय पर्वकोरुपमा परिचित रहेको छ । आफ्नै कथा र व्यथालाई मिलाएर गीत बनाई स्थानीय लोक बाजाको सहायतामा रमाइलो गरी मनाउँदा स्थानीय लोक संस्कृतिको पनि जगेर्ना हुने गर्दछ ।

त्यसैगरी महिलाहरुले बिहानैदेखि आफ्नो सोह्र श्रृंगार गरी महादेवको पूजाआजा गर्ने र दिनभरि नाचगान गर्दै रमाइलोसँग बिताउँदा भोक तिर्खाको समेत वास्तै नहुने भएकोले सजिलैसँग व्रत बस्न सकिने कुरा हामी हाम्रा हजुरआमाहरुबाट सुन्ने र देख्ने गर्दछौं । तीजको दिन दिनभरी केही नखाई ब्रत बस्नुपर्ने भएकाले अघिल्लो दिनको राती खाने मिठो परिकारलाई दर भनिने गरिएकोमा हिजोआज दरको परिभाषा नै बदलिइसकेको छ । हरेक चाडपर्वमा भएका नराम्रो पक्षलाई हटाउँदै र राम्रा पक्षलाई निरन्तरता दिँदै जानुपर्नेमा कतै हामीले हाम्रा पर्वरुको परिभाषा नै बदलिदिने त होइन ? यसैगरी हरेक पर्वलाई आ–आफ्नै तरिकाले मनाउँदै जाने हो भने अबका पुस्ताले हाम्रा पर्वलाई कसरी बुझ्लान् त ? कतै उनीहरु अलमलमा पर्ने त होइनन् ? यो विषय निकै गम्भीर बनिसकेको छ ।

कुरा एउटा पर्वको मात्र होइन । हरेक पर्वलाई समय अनुसार परिमार्जन गर्नु राम्रो पक्ष हो । तर परिमार्जन गर्दै जाँदा उक्त पर्वको अस्तित्व नै लोप नहोस् । जुन महत्व र कारणले पर्व मनाइएको थियो त्यो वास्तविकता नै रहेन भने पर्व मनाउनुको कुनै अर्थ रहँदैन । त्यसैले हरेक पर्वले समाजका सबैखाले वर्गलाई समेट्न सकोस् । हरेक पर्वले आ–आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत ख्याल गर्दै समाजमा एउटा राम्रो सन्देश छर्न सकोस् । आगामी पुस्ताले समेत हाम्रा पर्वहरुको अस्तित्व जोगाउन सकुन् । आउँदै गरेको यो महान पर्व हरितालिका तीजमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्दै आ–आफ्नो क्षमताअनुसार मनाउनु होला भन्दै आउँदै गरेको महानपर्व हरितालिका तीजको अवसरमासम्पूर्ण महिलाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । (अधिकारी हेटौँडा–६, गौरिटारस्थित बालजागृति युवावर्ष माविकी प्रधानाध्यापक हुनुहुन्छ ।)