हेटौँडाः बारा जिल्ला क्रिकेट टिमसँगको दुई एकदिवसीय मैत्रीपूर्ण क्रिकेटमा मकवानपुर जिल्लाको क्रिकेट टिमले दुबै खेल जितेको छ । आइतबार पहिलो खेलमा ६५ रनले विजयी भएको घरेलु टोली सोमबार १ विकेटले विजयी भएको छ ।
हेटौँडा–४, हुप्रचौरमा सोमबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा टस जितेर व्याटिङ रोजेको बाराले ३८ ओभरमा सबै विकेट गुमाएर १ सय ७० रन जोडेको थियो । बाराका लागि सर्फराज आलमले २८, अनिल साहले २५ र अरनिको यादवले २४ रन जोडेका थिए । बारालाई मध्यक्रममा रोक्न मकवानपुरका शुभ कंशाकारले ३ विकेट लिए भने समीर चौलागाई र रोहित ठाकुरले समान २ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको मकवानपुरले ३८ ओभर ४ बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । मकवानपुरका लागि गौरव खड्काले ४४ रन र सक्षम बास्ताकोटीले २९ रनको योगदान गरे । बाराका भुलवन सहनीले ५ विकेट लिए पनि हारबाट जोगाउन सकेनन् ।
यसअघि आइतबार भएको पहिलो खेलमा मकवानपुरले पाहुना टोलीलाई ६५ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले ३३ ओभरमा १ सय ५९ रन जोडेको थियो भने जवाफी व्याटिङमा उत्रिएको बारा ९४ रनमै समेटिएको थियो । मकवानपुर जिल्लाको क्रिकेट टिमले चितवन, बारा, पर्सा र रौतहट जिल्लाको टिमसँग मैत्रीपूर्ण खेल खेल्ने गरेको छ ।