कहिलेकाहीँ यस्तो प्रश्न मानसपटलमा उब्जन्छ, के साँच्चै मेरो देशले स्वतन्त्रताको छायाँमा ताजा सास फेरिरहेको छ ? के यो मुलुकका नागरिकलाई समानताको अधिकार प्राप्त छ ? तर अहँ, मेरो देश अझै स्वतन्त्र छैन । यहाँ खान नपाएर विदेशमा मजदूरी गर्न बाध्यता धेरैलाई परेको छ । अन्धविश्वास र गरिबीमा नागरिक पिल्सिरहेका छन् । जहीँतहीँ असमानता व्याप्त छ । अनेकौं जाति र धर्ममा बाँडिएका छन् मानिसहरु । धनी र गरिबबीचको खाडल गहिरिँदै छ ।

वत्सराज कोईराला

रोजगारीको अभावमा मानिस भोकभोकै मर्नु परेको छ । निर्दोष मारिए पनि क्षतिपूर्ति छैन । सरकार केवल कुर्सीको खेल र सत्ता–भत्ताको मातमा लठ्ठिन्छ । सामाजिक संस्थाहरु डलर पचाउन मात्र व्यस्त छन् । गरिबको मिहिनेतबाट धनीहरु मोटाएका छन् । जाति, धर्म, विचारधाराको नाउँमा भेदभाव गरिन्छ । जनताको लागि भनिने गर्छ तापनि सबैलाई समानताको अधिकार छैन । पैसावाल अपराधबाट बच्छ निर्दोष जेलमा पुग्छ । पुलिसले अपराधी समाउनु पर्दैन बरु नेताको सुरक्षामा तैनाथ भए पुग्छ । राजनीतिको अपराधीकरण भएको छ देशमा । यथार्थमा बोल्ने स्वतन्त्रता पनि छैन ।

पत्रकार र लेखकहरु सरकार, नेता, व्यापारी र माफियासँग थर्कमान हुनुपर्ने अवस्था छ । विपक्षको आवाज सुन्दै सुनिन्न । सरकारबाट चलाइएका योजनाहरुको लाभ सदैव अधिकारी, कर्मचारी र ठेकेदारले उठाउँछ । गरिबले नागरिकता समेत पाउँदैन । आरक्षणको कोटा हुने–खानेले उछिट्याउँछन् । सम्पत्तिको अधिकार सबैलाई समान छैन । कोही धेरै धनी र कोही धेरै गरीब छन् । शोषण, कालोबजारी, आपराधिक कृत्यहरु, लुट आदिले मानिसहरु धनवान बन्दै छन् । ‘जसको लाठी उसको भैंसी’ भन्ने उखान घूसखोर, बेईमान, अपराधी, उद्योगपति, व्यापारी र नेताहरुमा लागू भइरहेको छ ।

देशका नेता–सांसद यो स्वतन्त्र देशका राजा बनेका छन् । भोट माग्न जनताको दैलोदैलोमा पुगे पनि जन प्रतिनिधिहरु जनतासँग टाढै छन् । जनताको भलाईको लागि लागू गरिएका योजनाका रकम उनैले हडप्छन् । उनैले उद्योग चलाउँछन्, स्कूल र कलेज चलाउँछन् । माफिया र ठेकेदारसँग मिल्छन् । गणतन्त्र, लोकतन्त्र भए पनि अधिकार र सुविधाहरुबाट बञ्चित धेरै जनताहरु रोईरोई बाँच्न विवश छन् । जनतालाई केवल मताधिकारमा समानता छ, तर उसको चुल्हो बलेको छ, छैन सरकारलाई कुनै मतलब छैन ।