हेटौँडा : औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले उद्योग सञ्चालन नगर्ने ३ कम्पनिसँगको सम्झौता रद्द गरेको छ । हेटौँडा औद्योगिक क्षेत्रको जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगर्ने ३ वटा कम्पनिसँगको सम्झौता रद्द गरेको हो ।

उद्योग संचालन नगरी जग्गा मात्रै ओगट्ने ३ वटा कम्पनिसँगको सम्झौता रद्द गरेको कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग सञ्चालन गर्ने भन्दै हेटौँडा औद्योगिक क्षेत्र भित्रको जग्गा सम्झौता गरेर संरचना निर्माण गरेपनि जग्गा मात्रै ओगटेर बसेपछि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले ती कम्पनिसँगको सम्झौता रद्द गरेको हो । यसरी सम्झौता रद्द गरिएका कम्पनिहरुमा नाथ फुड्स इण्डष्ट्रिज, लक्ष्मी पेन्ट्स र सनराइज कन्टेनर प्रालि रहेको उहाँले बताउनुभयो । उनीहरुले उद्योग सञ्चालन गर्ने भन्दै लामो समयदेखि जग्गा भाडामा लिएर पनि सम्झौता अनुसार उद्योग सञ्चालन नगरेपछि उनीहरुसँगको सम्झौता रद्द गरिएको कार्यालयका सूचना अधिकारी नेपालले बताउनुभयो ।

सूचना अधिकारी नेपालका अनुसार ती उद्योगहरुले २०७२ र २०७३ सालमा उद्योग स्थापना गर्न भन्दै जग्गा भाडा लिएका थिए । सम्झौता रद्द गरिएका उद्योगहरुले उद्योग सञ्चालन गर्न हेटौंडा कपडा उद्योग र विस्तारित औद्योगिक क्षेत्रको जग्गा भाडाका लागि सम्झौता गरेका थिए । जसमा नाथ फुड्स इण्डष्ट्रिजले ७.७५ रोपनी, लक्ष्मी पेन्ट्सले ६.३४ रोपनी र सनराइज कन्टेनर प्रालिले १०.०३ रोपनी जग्गा भाडामा लिने गरी सम्झौता गरेका थिए । कार्यालयसँगको सम्झौता अनुसार लामो समयसम्म पनि उद्योग सञ्चालनमा नल्याएको र जग्गा मात्रै ओगटेर बसेपछि सम्झौता रद्द गरिएको हो । ती उद्योगहरुसँग भएको सम्झौता यसअघि नै गत २७ माघमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको बैठकले रद्द गर्ने निर्णय गरेको थियो ।

उद्योगहरुसँगको सम्झौता रद्द गर्ने निर्णय भएपछि ३ वटै उद्योगहरु अदालत पुगेका कारण सम्झौता रद्द गर्ने प्रक्रिया केहि लम्बिएको सूचना अधिकारी नेपालले बताउनुभयो । अदालतले औद्योगिक क्षेत्रको पक्षमा निर्णय गरेसँगै ती उद्योग सञ्चालनका लागि भन्दै बनेका संरचनाहरुको लिलामी प्रक्रिया समेत अगाडि बढाइएको छ । उक्त स्थानहरुमा नयाँ उद्योग स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको उहाँको भनाई छ । हाल हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको १४५ वटा औद्योगिक प्लटमा १२७ उद्योग रहेकामा ११५ वटा उद्योग मात्रै सञ्चालनमा रहेको सूचना अधिकारी नेपालले जानकारी दिनुभयो ।