हेटौँडा : मकवानपुरको मनहरी–७, रमनटारमा मंगलबार दिउँसो २ बजेर ३५ मिनेटको समयमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–७, रमनटारमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ग ११ प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा जिल्लाको कोल्वी नगरपालिका–५ की ३४ वर्षीया सरिता देव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक ३५ वर्षीय शिव कुमार चौधरी घाइते भएका छन् । शिवकुमारको स्वास्थ्य अवस्थामा मध्यम रहेको बताइएको छ । शिवकुमार मृतक सरिताका श्रीमान् भएको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार शिवकुमार चौधरीका साडुभाई रौतहट जिल्लाका अजय चौधरीका छोरा ६ वर्षीय अन्श चौधरी घाइते भएका छन् । अन्शको दाहिने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीले मिक्सर ट्रक र ट्रक चालक मनहरी–९, ज्यामिरेका ४९ वर्षीय धनबहादुर सुनार प्रहरीको नियन्त्रणमा रहेका छन् ।