सविता पौडेल अनमी, हेटौँडा अस्पताल प्रसुती वार्ड

स्तनपानलाई अमृतपानको रुपमा व्याख्या गर्ने गरिएको छ । नवजात शिशुले ६ महिना आमाको दुध बाहेक अरु केही खानु नपर्ने चिकित्सकको भनाइ छ । त्यसपछि पनि २ वर्षसम्म अन्य खाद्यपदार्थसँगै शिशुलाई निरन्तर आमाको दुख खुवाउने गरिन्छ । स्तनपानका विषयमा केही भ्रमहरु पनि छन् भने स्तनपानको सन्दर्भमा सुत्केरी महिला र परिवारले धेरै कुरा थाहा पाउनु जरुरी हुन्छ । अहिले विश्व स्तनपान दिवस चलिरहेको छ । अगस्ट महिनाको १ तारेखदेखि ७ तारेखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । स्तनपान सप्ताहकै अवसरमा स्तनपानसम्बन्धी सचेतना, गलत धारणा र ध्यान दिनुपर्ने विषयमा समाज संवाददाता आरजु सत्यालले हेटौँडा अस्पतालको प्रसुती वार्डमा कार्यरत अनमी सविता पौडेलसँग गर्नुभएको कुराकानीः

समाजः हेटौँडा अस्पतालमा विश्व स्तनपान सप्ताह कसरी मनाइँदै छ ?
पौडेलः
हामीले सुत्केरी महिलाहरूलाई एक ठाँउमा राखेर स्तनपान सम्बन्धी सबै परामर्शहरु गराएर, उहाँहरुलाई यसबाट हुने फाइदा र बेफाइदाको बारेमा जानकारी गराएका छौं । साथै सरसफाइसम्बन्धी परामर्श गराएर सबै महिला दिदिबहिनीहरुलाई एक ठाउँमा जम्मा गरेर स्तनपान गराउने तरिका सिकाएर स्तनपान दिवस मनाउँदै छौँ ।

समाजः हेटौँडा अस्पतालसँगै मकवानपुर जिल्लामा स्तनपान सप्ताह कसरी मनाइँदै छ ?
पौडेलः
हेटौँडा अस्पतालसँगै मकवानपुर जिल्लामा अन्य ठाउँमा जहाँ प्रसुतीगृह छ त्यहाँ हामीले बुझ्दा सुत्केरी महिलालाई परामर्श दिएर यसको फाइदा, बेफाइदाबारे जानकारी गराएर, आमा तथा बच्चालाई हुने फाइदाहरुको बारेमा बताएर यसको सप्ताव्यापी कार्यक्रम भइरहेको छ ।

समाजः स्तनपान गराउने महिलाहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
पौडेलः
स्तनपान गराउने महिलाहरुलाई सर्वप्रथम हामीले बच्चा जन्मेको एक घन्टा भित्र स्तनपान गराइहल्नु पर्ने हुन्छ । त्यसपछि नवजात शिशुलाई स्तनपान गराउने कार्यलाई निरन्तर जारी राख्नु पर्छ । ६ महिनासम्मका बालबालिकालाई स्तनपान मात्रै गराउनुपर्छ । स्तनपानले चाहिँ बच्चाहरूमा एकदम क्षमता बढाउँछ, शक्तिशाली बनाउँछ र खोपको पनि काम गर्छ । स्तनपान गराउनाले आमालाई पनि यसले त्यतिनै फाइदा हुन्छ । आमाको रक्तस्रावलाई रोक्दछ । अरु रोगहरु जस्तो स्तनक्यान्सरको जोखिम पनि न्युन हुन्छ । पर्याप्त स्तनपानले शिशुलाई शारीरिक र मानसिक दुवैरुपमा शक्तिशाली बनाउँछ । आमाको दुख खाएजस्तो गाइभैंसीको दुख खाएर बच्चाले शक्ति प्राप्त गर्न सक्दैन ।

समाजः मकवानपुरमा पहिला भन्दा अहिले स्तनपान गराउने विषयमा कतिको सुधार आएको छ ?
पौडेलः
पहिला चाहिँ बोतलका दुख खुवाउन सुत्केरी महिला र परिवारका अन्य सदस्यले पनि बढी ध्यान दिन्थे । अहिले हाम्रो परामर्शले गर्दा स्तनपान कार्यक्रमले गर्दा बोतलको दुख खुवाउन नपर्ने, नहुने, एकदमै जटिल अवस्थामा मात्र बोतलको दुध खुवाउने गरेको पाएका छौं ।

समाजः कस्तो अवस्थामा महिलाले स्तनपान गराउन मिल्दैन ?
पौडेलः
आमा अचेत अवस्थामा, बेहोस अवस्थामा, आमालाई छारे रोग लागेको अवस्थामा स्तनपान गराउन मिल्दैन । कुनै अवस्थामा सुत्केरी भए तापनि आमा सक्षम छैन भने स्तन वरिपरि घाउ भएको छ भने बच्चालाई दुध खुवाउन मिल्दैन ।

समाजः कति समयसम्म स्तनपान मात्रै गराउनु पर्छ ?
पौडेलः
बच्चा जन्मेको १ घन्टादेखि बच्चाको उमेर ६ महिना पुग्दासम्म दिनमा ८ देखि १० पटक आमाको दुध बाहेक अरु केहि पनि खुवाउनु पर्दैन । यसलाई पूर्णस्तनपान पनि भनिन्छ । अथवा बच्चाले माग गरेअनुसार दुध खुवाउनु पर्छ । यो अवधिलाई पूर्णस्तनपान अवधि पनि भनिन्छ ।

समाजः एचआइभि संक्रमित महिलाले स्तनपान गराउन हुन्छ कि हुँदैन ?
पौडेलः
पहिला–पहिला चाहिँ आमाको दूधबाट बच्चामा एचआइभि सर्ने भन्ने थियो । त्यो चाहिँ विरलै हुन्छ भने पछिल्लो समयमा संक्रमित महिलाले पनि स्तनपान गराउनुपर्ने नै हुन्छ ।

समाजः अहिलेको समयमा पनि धेरै मानिसमा स्तनपान बारे भ्रम देखिन्छ । यो बारेमा तपाई के भन्न चाहनुहुन्छ ?
पौडेलः
यसमा कुनै पनि बाहिरी कुरा नसुनी र नसोचिकन बच्चा जन्मेपनि सुत्केरी महिलाको आफ्नो एउटा चाहना पनि हुन्छ । यो समयपछि फेरि आउँदैन, यो बेला चाहिँ आमाको दूध बच्चालाई खुवाएन भने पछि बच्चाले दूध नचुस्ने, अरु बोतल फिडिङ गर्न खोज्ने, आमाको दूध गाल्लिने, पछि गएर चिर्न पर्ने अवस्था आउन सक्छ । त्यही भएर बच्चा जन्मेको १ घन्टामा दूध खुवाउनुपर्छ । होइन भने बच्चाले दूध चुस्न सक्दैन, जन्दैन बोतल दुधको माग गर्छ र आमा तथ बच्चालाई असर गर्छ । सुत्केरी महिलाले निरन्तर आफूले पनि पोषिलो खानेकुरा खाएर आफ्ना बच्चालाई स्तनपान गराउनुपर्छ ।