हेटौंडाः हेटौंडा अस्पतालमा पुस महिनामा २० वर्षभन्दा कम उमेरका २१ जना किशोरी आमा बनेका छन् । अस्पतालमा २ सय ८३ जना गर्भवतीले शिशुलाई जन्म दिँदा किशोरावस्थामै २१ जना किशोरी आमा बनेको हेटौंडा अस्पतालका मेडिकल रेकर्डर सफलचन्द्र कँडेलले जानकारी दिनुभयो ।
पुस महिनामा हेटौँडा अस्पतालमा ७ वटा गर्भवतीको जटिल शल्यक्रिया गरेर शिशु निकाल्नु परेको र एक सय १८ जना गर्भवतीलाई शल्यक्रिया गरेर शिशु निकालिएको थियो । यस्तै एक सय ५८ जना गर्भवतीले सामान्यरुपमा शिशुलाई जन्म दिएका थिए । यसअघि मंसिर महिनामा २० वर्षभन्दा कम उमेरका २२ जना किशोरी आमा बनेका थिए । ३ सय २२ जना आमा बन्दा किशोरावस्थामै २२ जना आमा बनेका हुन् । यस्तै, कात्तिक महिनामा २३ जना किशोरी आमा बनेका थिए । २ सय ९७ गर्भवतीले शिशुलाई जन्म दिँदा २० वर्षभन्दा कम उमेरमै २३ किशोरीले शिशुलाई जन्म दिएका हुन् ।
चालु आर्थिक वर्षको साउन महिनामा २६ जना, भदौमा १९ जना र असोजमा १२ जना किशोरी आमा बनेका थिए । गरिबी र अशिक्षाका कारण मकवानपुरका ग्रामीण क्षेत्रमा अझै बालविवाह नरोकिनुले किशोरीहरु आमा बन्ने क्रम जारी छ । हेटौँडा उपमहानगरभित्रका ग्रामीण वडामा पनि बालविवाह रोक्न सकिएको छैन । २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु, गराउनु नेपालको वर्तमान कानुनले दण्डनीय अपराध ठहर्याएको छ । तर, मकवानपुरमा उमेर नपुगी बालविवाह गर्ने र किशोरीहरु आमा बन्ने क्रम भने रोकिएको छैन ।