शिक्षण सिकाई प्रक्रियामा सिकारुको सिकाई उपलब्धी मापनको एउटा माध्यम परीक्षा हो । विद्यार्थीले शिक्षण संस्थामा अध्ययन गरेपछि विषयगत, कक्षागत र तहगत सिकाई उपलब्धी मापन गर्नुपर्छ । विभिन्न प्रकारका परीक्षा र क्रियाकलापमार्फत् विद्यार्थीको निर्माणात्मक र निर्णयात्मक मूल्यांकन गर्ने गरिन्छ । अध्ययन अध्यापनको क्रममा बीचबीचमा निर्माणात्मक मूल्यांकन गरेर विद्यार्थीलाई आवश्यक पृष्ठपोषण दिइन्छ भने शैक्षिक सत्रको अन्त्यमा निर्णयात्मक मूल्यांकन गरेर विद्यार्थी माथिल्लो कक्षा वा तहमा अध्ययनका लागि योग्य भए/नभएको प्रमाणित गरिन्छ । विद्यार्थी मूल्यांकनका लागि हाम्रो देशमा लिखित परीक्षा प्रणाली प्रयोग भइरहेको छ । विद्यार्थीले आवधिक वा वार्षिक परीक्षामा तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सोधिएका प्रश्नपत्रको लिखित जवाफ दिन्छन् । विद्यार्थीले लेखेको उत्तरपुस्तिकालाई सम्बन्धित विषय शिक्षकले परीक्षण गरी प्राप्तांक प्रदान गरिन्छ । सोही प्राप्तांकको आधारमा विद्यार्थीको शैक्षिक उपलब्धी वा उत्तीर्ण/अनुत्तीर्ण मापन गरिन्छ । पछिल्ला वर्षहरुमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्राप्तांकलाई लेटर ग्रेडमा रुपान्तरण गरी नतिजा निकाल्ने गरिएको छ ।
अहिले विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी प्रथम त्रैमासिक परीक्षा सुरु हुने समय भएको छ । विद्यालयहरुमा साउनमा वर्षे विदा हुने भएकाले बिदाअगाडि नै पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने गरी मकवानपुर जिल्लाका अधिकांश पालिका र विद्यालयहरुले शैक्षिक क्यालेण्डर निर्माण गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले पनि विद्यालयहरुमा साउन २ गतेदेखि प्रथम त्रैमासिक परीक्षा सुरु गर्ने गरी शैक्षिक क्यालेण्डर निर्माण गरेको थियो । तर, अत्यधिक गर्मीका कारण गत जेठमा करिब ८ दिन विद्यालय बन्द भएका कारण त्रैमासिक परीक्षा पछि सरेको छ । वर्षे विदाबाट मिलान हुनेगरी दिइएको उक्त विदाका कारण उपमहानगरपालिकाका विद्यालयहरुले साउनको दोस्रो हप्ताबाट प्रथम त्रैमासिक परीक्षा सुरु गर्ने तयारी गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुमा परीक्षालाई एकरुपता दिलाउन क्रियाशील नगरस्तरीय शैक्षिक समन्वय समितिले साउन ९ गतेदेखि प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्नेगरी परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ ।
सबै विद्यालयहरुमा वार्षिक एकाइ योजना समान नभएका कारण नगरस्तरीय शैक्षिक समन्वय समितिमार्फत् त्रैमासिक परीक्षा सञ्चालन हुने सम्भावना कम छ । केही विद्यालयहरुले आ–आफैं प्रश्नपत्र तयार गरी आफ्नो अनुकूलको मितिमा परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको भए पनि साउनको दोस्रो हप्तासम्म प्रायः सबै विद्यालयमा परीक्षा सुरु हुने निश्चित छ । परीक्षा नजिकिँदै जाँदा विद्यार्थी, शिक्षक र अभिभावकमा एक प्रकारको त्रास पैदा हुने गर्दछ । परीक्षाकेन्द्रित पुनरावृत्ति तथा तयारीका कारण विद्यार्थी, शिक्षक र अभिभावकमा अन्य समयमा भन्दा परीक्षा अगाडि पठनपाठनमा बढी ध्यान दिने परिपाटी पाइन्छ । परीक्षालाई विद्यार्थीको मूल्यांकन गर्ने सामान्य प्रक्रियाको रुपमा नलिएर त्यसलाई बढी महत्व दिँदा कतिपय विद्यार्थीका लागि परीक्षा बोझ बन्ने गरेको छ ।
विद्यार्थीले पढेका र सिकेका कुराहरुलाई सोधिएका प्रश्नको आधारमा उत्तरपुस्तिकामा लेख्ने नियमित कार्य नै विद्यालयको परीक्षा हो भन्ने कुरा विद्यार्थीलाई बुझाउनुपर्छ । पटक–पटक परीक्षा दिइसकेको र अझै कयौं पटक परीक्षा दिनुपर्ने भएकाले परीक्षालाई सामान्यरुपमा लिन सक्नुपर्छ । कसैले पनि परीक्षालाई अनावश्यक महत्व दिई हाउगुजी बनाउनु हुँदैन । परीक्षादेखि आत्तिनु हुँदैन भने परीक्षालाई लिएर अनावश्यक डर, त्रास लिनु हुँदैन । परीक्षालाई सामान्य ठान्दै हरेक विद्यार्थीले आफूले पढेका विषयवस्तुको सृजनात्मक तरिकाले उत्तर दिनुपर्छ । परीक्षा र यसको तयारीलाई लिएर अनावश्यक डर, शंका तथा चिन्ता लिनुभन्दा यसलाई सामान्यरुपमा लिनु उचित हुनेछ ।