हेटौँडाः हेटौँडा–६, चौघडास्थित सुनगाभा शिक्षा निकेतन इंग्लिस स्कूलले एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । मंगलबार विद्यालयमै एक कार्यक्रमबा बीच एसईईमा सहभागी २० जना विद्यार्थीलाई सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारीको पनि उपस्थिति रहेको थियो ।
विद्यार्थीसँगै अभिभावकलाई पनि सम्मान गरिएको छ । विद्यार्थी सम्मान कार्यक्रममा अध्यक्ष रामहरि न्यौपानेले नतीजा राम्रो भए पनि पर्याप्त नभएको बताउनुभयो । विद्यार्थीमा किताब पढ्ने बानी बसाल्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै आफ्ना नानीबाबुलाई विद्यालयमा समावेश गराएर अभिभावकले गरेको विश्वासप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा अभिभावक शालिकराम घिमिरेले अभिभावक जिम्मेवार हुनुपर्ने बताउनुहुँदै उच्च शिक्षा हासिल गर्ने क्रममा अभिभावकले आफ्ना बाबुनानीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले क्षमतावान शिक्षक व्यवस्थापन गर्न विद्यालयले ध्यान दिनुपर्ने सुझाव पनि दिनुभएको छ ।
विद्यार्थी र अभिभावकलाई सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।
एसईईमा विद्यालय प्रथम विद्यार्थी सुविक्षा बानियाँले शिक्षक, परिवारको साथ र सहयोगले राम्रो नतिजा हासिल गर्न सफल भएको बताउनुभयो । बानियाँले आगामी दिनमा अझ राम्रो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारीको अवधारणामा सञ्चालित सुनगाभामा ११२ जना सेयर सदस्य छन् ।