मकवानपुर जिल्लामा पछिल्लो समय बालविवाहका घटना उल्लेख्य हुने गरेको छ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तथा घोषणाको तयारी भइरहँदा बालविवाह अन्त्य हुन नसक्नु लज्जाको विषय बनिरहेको छ । जिल्लाका ३ वटा स्थानीय तहहरु बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । हेटौंडा उपमहानगरपालिकालाई पनि आगामी मंसिरसम्म बालमैत्री शासनयुक्त पालिका घोषणा गर्नेगरी कार्यक्रमहरु भइरहेका छन् । जिल्लाका अन्य पालिकाहरुले पनि बालमैत्री घोषणाको तयारी गरिरहेका छन् । यति हुँदाहुँदै पनि समुदायमा बालविवाह कम हुन नसक्नुले चुनौती बढाएको छ । विगतमा अभिभावकमा चेतनाको कमीले अभिभावककै करकापबाट बालविवाह हुने गरेको भए पनि पछिल्लो समय बालबालिकाकै अपरिपक्व निर्णयबाट अधिकांश बालविवाह भइरहेको छ । इन्टरनेटको बढ्दो पहुँच र प्रयोगले बालविवाहमात्र नभई बालबालिकामाथि हुने आपराधिक घटनासमेत बढ्दै गएको छ । यसले अनलाइन बाल संरक्षणलाई चुनौतीपूर्ण बनाएको छ । मोबाइल फोन र सामाजिक सञ्जालमा बालबालिकाको सहज पहुँच बन्दै जाँदा कम उमेरमै उनीहरुबीच प्रेम सम्बन्ध हुने र त्यसले बालविवाह बढाउने अवस्थालाई थप चुनौतीपूर्ण मान्न थालिएको छ ।

चालु आर्थिक वर्षको हालसम्म बाल हेल्पलाइन मकवानपुरमा ४४ वटा बालविवाहको घटना दर्ता भएको छ । ११ बालक र ३३ बालिका गरी ४४ वटा बालविवाहको घटना दर्ता भएको बाल हेल्पलाइनको तथ्यांक छ । सामाजिक सञ्जालमा सहजै अन्जान व्यक्तिसँग नजिक हुन पुग्दा बालविवाहका घटना बढिरहेको पाइएको छ । बाल हेल्पलाइन मकवानपुरले सोमबार आयोजना गरेको अनलाइन बाल संरक्षणसम्बन्धी अभिमुखीकरणका क्रममा सहभागीहरुले अनलाइनको पहुँच र प्रयोग बढ्दै जाँदा बालविवाहसहित बाल संरक्षणको क्षेत्र चुनौतीपूर्ण बनेको बताएका हुन् । सन् २०२० मा सातै प्रदेशमा अनलाइन बाल संरक्षण विषयमा गरिएको सर्वेक्षणले बालबालिका बढी अनलाइन जोखिममा रहेको देखाएको छ । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको तयारी भइरहेको अवस्थामा अनलाइन बाल संरक्षणबारे चनाखो हुनुपर्ने बताइएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा दर्ता भएका घटनामध्ये ९९ प्रतिशत साइबर अपराधका घटना हुने गरेको तथ्यांक छ । बालबालिकामात्र नभई ठूला मानिसहरु पनि सुरक्षित तबरले अनलाइनमा नरहँदा जोखिम हुनसक्छ । सामाजिक सञ्जाललाई कसरी सुरक्षित प्रयोग गर्ने भन्ने सामान्य सचेतना नअपनाउँदा ठूलो जोखिममा पर्नसक्ने अवस्था आउन सक्छ । आज हातहातमा भएको मोबाइल फोन र इन्टरनेट कनेक्टिभिटीबाट हाम्रा कामलाई धेरै सहज बनाएको भए पनि यसले विकराल समस्यासमेत ल्याइरहेको छ । तोतेबोली नफुटेको बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई मोबाइल र इन्टरनेट अत्यावश्यकजस्तै भएको छ । अनलाइन र सामाजिक सञ्जालको लोकप्रियता र सहज पहुँचले जोकोही पनि यसको प्रयोगकर्ता बनिरहेका छन् । अनलाइनबाट हुने चिनजान, भेटघाट, कुराकानीले एकापसमा नजिक्याउँदै लगेको छ । अनलाइन र सामाजिक सञ्जाल चलाउने बालबालिकालाई प्रभावित पारेर उनीहरुलाई उपयोग गर्ने क्रम बढ्दै जानु चिन्ताको विषय भइरहेको छ ।

इन्टरनेट र यससँग सम्बन्धित विभिन्न सामाजिक सञ्जाल तथा गेमिङ कार्यहरुमा बढी समय बिताउँदा त्यसले शारीरिक र मानसिक समस्या ल्याउँछ नै । सामाजिक सञ्जालको माध्यमबाट बालबालिकालाई अनलाइन यौन शोषण गर्ने गरिएको पाइन्छ । बालबालिकाले आफूलाई कसरी सुरक्षित राख्ने र पीडित भएमा के गर्ने भन्ने जानकारी नहुँदा कतिपय समस्या बाहिर आउन सकेको छैन । सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकालाई अनलाइन बाल संरक्षणबारे सचेतना दिनु आवश्यक छ । अभिभावकले पनि आफ्ना बालबालिकाले मोबाइल वा ल्यापटपमा के गर्दैछन् भन्ने निगरानी गर्नुपर्छ । अनलाइनबाटै चिनजान, कुराकानी र भेटघाट भएर बालविवाह बढ्दै गएको विभिन्न किसिमबाट बालबालिका शोषणमा परिरहेको सन्दर्भमा सम्बद्ध पक्षहरु सचेत बन्नु उचित हुनेछ ।