फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेशसभाको मंगलबारको बैठक विपक्षी दलका सांसदहरुको अवरोधपछि स्थगित भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत बजेटमाथि छलफल हुने भनिए पनि कुनै छलफल हुन सकेन ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक करिब २ घण्टा ३० मिनेटपछि सुरु भएकोे थियो । बैठकमा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामालाई वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानिक बजेटमाथि सभामा छलफल गर्न अनुमति दिनुभएको थियो । लगत्तै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले उठेर बिरोध जनाउँदै बैठक अवरोध गरेका थिए । बिरोधका बीच अर्थमन्त्री लामाले आफ्नो प्रस्तुति पेश गर्नुभयो ।

बैठक चल्ने अवस्था नभएपछि सभामुख पाठकले प्रमुख प्रतिपक्षी दलको नेता जगन्नाथ थपलियालाई समय दिएर बोल्न दिनुभएको थियो । नेता थपलियाले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटप्रति आफूहरुले गम्भीर मोडमा छलफल गरिरहेको बताउनुभयो । आफूहरुको आशा र विश्वासविपरित बागमती प्रदेशको बजेट आएको आरोप लगाउनुभयो । प्रदेशको बजेट सन्तुलित, समाजवादउन्मुख विभिन्न खुट्किलाहरुलाई पार गर्दै गरिब, दुःखी जनताको पक्षमा, किसान, मजदुर, युवा, बेराजगारको पक्षमा आउँछ भन्ने विश्वास गरेकोमा उल्टो आएको उहाँले बताउनुभयो ।
यो कुरा सरकारलाई पनि भनिएको र पटकपटक नीति तथा कार्यक्रमका लागि सुझावसमेत दिएको भए पनि कुनै अर्थ नभएको उहाँले बताउनुुभयो । अहिलेको बजेटले कतै पनि र कसैलाई सम्बोधन नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकार के खाएर निदाएको हो थाहा छैन, सधैंभरि हुन्छ हुन्छमा मात्र रह्यो । पटकपटक घच्घच्यायौं, कहिल्यै सुन्न चाहेन, अन्तिम दिनसम्म पनि सन्तुतिल बजेट ल्याउ, दिगो विकासलाई जोडेर ल्याउ, भनेको तर बजेटले केही सम्बोधन गरेन ।’ उहाँले नीति तथा कार्र्यक्रम खाली आएको बताउनुभयो । अहिलेको बजेट प्रदेश सिस्टमलाई प्रहार गर्ने हिसाबले आएको उहाँको भनाई छ ।

उहाँले सभामा कुनै अवरोध गर्नु नपर्नेगरी बजेट आउनुपर्ने भएपनि त्यो हुन नसकेको बताउनुभयो । विगतलाई दोष दिएर वर्तमानलाई बिगार्न नपाउने उहाँले चेतावनी दिनुभयो । अहिलेको बजेट लापरबाही र मनलाग्दी ढङ्गले ल्याएको उहाँले आरोप लगाउनुभयो । अहिलेको बजेट ३–४ वटा निर्वाचन क्षेत्रलाई ध्यान दिएर बनाइएको उहाँको भनाइ छ ।

प्रदेशको सिन्धुपाल्चोक, धादिङ र नुवाकोट जिल्लामा मात्र विकास बजेटको ७ अर्ब हाराहारीमा बजेट छुट्याएर अन्य जिल्लालाई हेला गरेको उहाँले बताउनुभयो । आफूले ती क्षेत्रमा विनियोजित बजेटको बिरोध गरेको नभई सोही क्षेत्रअनुरुप अन्य क्षेत्रमा किन विनियोजन भएन भनेर प्रश्न गरेको बताउनुभयो । बजेट सन्तुतिल हुनुपर्ने बताउनुहुँदै उहाँले लापरबाही तरिकाले वडा नै नभएको स्थानीय तहमा बजेट विनियोजन गरेको बताउनुभयो ।

नेता थपलियाले प्रदेश सरकारले अहिले मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानलाई ध्वस्त बनाउन खोजेको बताउनुभयो । प्रदेश सरकारले बजेट कटौती गरेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको उहाँले आरोप लगाउनुभयो । कर्मचारीलाई जागिरबाट निकालेर अस्पतालको सेवामा प्रभाव पार्न खोजिएको उहाँले बताउनुभयो ।

गठबन्धनका नेता र मन्त्रीहरुको निजी जग्गा प्लटिङ गर्न र सुधार गर्न ५० लाखसहितको तटबन्धन कार्यक्रम राखिएको छ भन्ने आफूले सुन्नमा आएको बताउनुहुँदै उहाँले जनताको घरजग्गा जोगाउने र बाढी नियन्त्रण गर्ने कुरामा ५ लाखसम्म सानो आकारको बजेट ल्याएको बताउनुभयो । अहिले १० अर्बभन्दा स–साना योजना केका लागि ल्याएको भन्दै उहाँले प्रश्न गर्नुभयो । टेन्डर प्रथा भए विश्वास गर्न सकिने तर त्यो नभएकाले यसले कार्यकर्तालाई पोषणका लागि ल्याएको भन्ने बुझिने उहाँले बताउनुभयो । अघिल्लो सरकारले ल्याएको विद्युतीय बस सञ्चालन र सुरुङमार्गजस्ता जनमैत्री, वर्गीय र प्रदेश गौरवको योजनालाई अहिले केही सम्बोधन नगरेको उहाँले बताउनुभयो ।

नेता थपलियाले आफ्नो भनाई राखेपछि सभामुख पाठकले आगामी आर्थिक वर्षको प्रस्तुत बजेटमाथि छलफल गर्न निर्देशन दिनुभएको थियो । तर फेरि एमाले र राप्रपाका सांसदहरुले सभा चल्न दिएनन् ।