मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हेटौँडा घोषणापत्र–२०८० हस्तान्तरण गर्नुहुँदै परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाई ।

युवामार्फत समृद्ध बागमती प्रदेश बनाउँछौंः मुख्यमन्त्री जम्कट्टेल
हेटौँडाः ११ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश प्रथम युवा सम्मेलन–२०८० मंगलबार हेटौँडामा सम्पन्न भएको छ । प्रदेशका १३ वटै जिल्लाबाट १ सय ५० प्रतिनिधि युवाको सहभागितामा बागमती प्रदेश युवा परिषद्को आयोजनामा सम्मेलन भएको हो । सम्मेलनको समापनका अवसरमा ११ बुँदे हेटौँडा घोषणापत्र जारी गरिएको छ । युवालाई ज्ञान, सीप र दक्षतायुक्त बनाउन परिषद्को अग्रसरतामा प्रथम युवा सम्मेलन आयोजना गरिएको उल्लेख गर्नुहुँदै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले ११ बुँदे घोषणापत्र जारी गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई घोषणापत्र बुझाउनुभएको छ ।

घोषणापत्र बुझ्नु हुँदै मुख्यमन्त्री जम्कट्टेलले युवामार्फत समृद्ध बागमती प्रदेश निर्माण गर्ने बताउनुभयो । घोषणापत्रमा उल्लेख भएका विषयहरु प्रदेश सरकारको नीतिमा समावेश गरी आवश्यक योजना ल्याउने प्रतिवद्धता पनि मुख्यमन्त्री जम्कट्टेलले गर्नुभएको छ । “हामी युवालाई सीपयुक्त बनाउँदै समृद्ध नेपाल बनाउन सकिन्छ भन्नेमा विश्वस्त छौं”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “हामीले युवा र खेलकुदलाई महत्व दिएका छौं । हामी उपयुक्त संरचना खडा गरेर काम गर्नेछौं । नयाँ ढंगले युवा र खेलकुदलाई परिचालन गर्नेछौं ।”

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रथम बागमती प्रदेश युवा सम्मेलन–२०८० ले जारी गरेको घोषणापत्रका बुँदालाई शत्प्रतिशत कार्यान्वयन गर्ने बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट बनाउनु अघि नै सम्मेलन आयोजना गर्न पाएको भए अझ राम्रो हुने अपेक्षा गर्नुहुँदै मन्त्री मुक्तानले भन्नुभयो, “अहिले सम्पन्न भएको सम्मेलनबाट प्राप्त युवाका सल्लाह, सुझाव राम्रा आएको छ । हामी यसलाई शत्प्रतिशत कार्यान्वयन गर्नेछौं ।” न्यून बजेटका बाबजुद पनि राम्रा कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण प्रथम प्रदेश युवा सम्मेलनले पुष्टि गरेको उल्लेख गर्नुहुँदै मन्त्री मुक्तानले प्रदेश युवा परिषद्ले प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले सम्मेलनमा महत्वपूर्ण सवाल उठान भएको बताउनुभयो । युवालक्षित सीप विकासका कार्यक्रम, युवाका लागि परामर्श सेवा र प्रविधि हस्तान्तरणमा मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको उहाँको भनाइ थियो । सोमबार र मंगलबार दुई दिन आयोजित सम्मेलनमा उद्यमशीलता र व्यापार, सामाजिक र सार्वजनिक जीवनमा युवाको सहभागिता, देश विकासमा युवाको भूमिका, व्यवसाय सुरुवातसम्बन्धी अवधारणा र सामाजिक सञ्जालको सदुपयोग एवम् चुनौतिका विषयमा ५ वटा सत्रमा प्रसतुती तथा अन्तरक्रिया भएको थियो ।

सम्मेलनका पाँचवटै सत्रमा सम्बन्धित क्षेत्रका विज्ञ व्यक्तित्वले प्रस्तुती राखेका थिए । युवाको उत्साहजनक सहभागितामा सम्पन्न भएको अधिवेशनको समापनको अवसरमा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले आगामी वर्ष अझ वृहत् र प्रभावकारी सम्मेलनको आयोजना गर्ने घोषणा गर्नुभयो । पहिलो पटक आयोजना गरिएको सम्मेलनले युवालाई उद्यमशीलता, व्यक्तित्व विकास र सामाजिक एवम् सार्वजनिक जीवनमा आफ्नो भूमिकाका बारेमा जिम्मेवार हुन प्रेरित गर्ने दावीसहित उहाँले अर्को वर्षको युवा सम्मेलनमा सहभागी युवाले लगत्तै उत्पादन, व्यवसायको सुरुवात गर्ने गरी प्रेरणात्मक कार्यक्रम गर्ने बताउनुभयो ।

सम्मेलनको समापनको अवसरमा परिषद्ले विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ जना युवालाई पुरस्कृत गरेको छ । बहिरा कलाकार काठमाडौंकी सुजल बम, भाषा, संस्कृति र साहित्य क्षेत्रका मकवानपुरको थाहा नगरपालिका बिर्खे अन्जान, नवप्रवर्तनतर्फ चितवनका अभय परियार, उद्यमतर्फ ललितपुरको आमा–छोरी अचार उद्योग र सामाजिक सेवाको क्षेत्रमा ललितपुरकी अंशु कार्कीलाई सम्मान गरेको छ । सबैलाई जनही २५ हजार रुपैयाँसहित सम्मापनपत्र प्रदान गरिएको थियो ।