बकैया गाउँपालिकास्थित एक विद्यालयमा नवनियुक्त शिक्षकलाई स्वागत गर्दै एक विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडाः शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भएका प्राथमिक तहका शिक्षकहरु विद्यालय पुग्ने क्रम सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले नियुक्ति दिएर पालिका समेत तोकिदिएपछि पालिकामा पुगेका शिक्षकलाई मकवानपुरका पालिकाले औपचारिक कार्यक्रम गरी पालिकाका प्रमुख, उपप्रमुख, शिक्षा शाखाका अधिकारीले स्वागत गरेर विद्यालय तोकिदिएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाले ४० जना शिक्षकलाई सोमबार विद्यालयमा खटाएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले स्वागत गरी विद्यालय तोकेर पठाएको छ । बकैया गाउँपालिकाले मंगलबार ३६ जना शिक्षकलाई विद्यालयमा खटाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्तबहादुर खत्रीले स्वागत गर्दै विद्यालयमा खटाएको छ ।

मकवानपुरगढी गाउँपालिकाले पनि बुधबार नै २५ जना शिक्षकलाई विद्यालयमा खटाएको छ । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले नवनियुक्त शिक्षकहरुलाई स्वागत गरेर सम्बन्धित विद्यालयमा जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभएको छ । थाहा नगरपालिकाले पनि बुधबार नवनियुक्त शिक्षकहरुलाई स्वागत गरेर सम्बन्धित विद्यालयमा पठाएको छ । नगर प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत गरेर नवनियुक्त शिक्षकलाई डायरी उपहार दिनुभएको थियो । पालिकाको स्वागत लगत्तै विद्यालय पुगेका शिक्षकलाई विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षकले स्वागत गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईले जेठ ३१ गते ३ सय ४ जनालाई प्राथमिक तहको स्थायी शिक्षकमा नियुक्त गरेको थियो । शिक्षक सेवा आयोगको परीक्षामा सफल भएकाहरुलाई इकाईले नियुक्तिपत्र दिएर सम्बन्धित पालिकामा खटाएको हो । पालिकाले दरबन्दी रिक्त रहेको विद्यालयमा खटाएको छ । हेटौँडा उपमहानगरपालिकाले एक दुईदिनमा नवनियुक्त शिक्षकलाई स्वागत गरेर विद्यालयमा पठाउने जनाएको छ । हेटौँडा उपमहानगरको शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले आयोगको वरियता सूचिका आधारमा विद्यालय छनोटको कार्य सकिएको र नवनियुक्त शिक्षकलाई सम्पर्क आएपछि स्वागत गरी विद्यालयमा पठाइने बताउनुभएको छ ।

नवनियुक्त शिक्षक विद्यालय आएपछि विद्यालयको नियमित अध्यापन कार्यमा सहज हुने थाहा नगरपालिका–६ स्थित बज्रबाराही माविका प्रधानाध्यापक रमेश मान डंगोल बताउनुहुन्छ । शिक्षकको अभावमा एउटै शिक्षकले बढी कक्षा पढाउन बाध्य हुनुपर्ने अवस्था रहेको र २ जना प्राथमिक तहको शिक्षक आएपछि विद्यालयको नियमित अध्यापन कार्य सहज हुने उहाँको भनाइ छ ।